भारत भ्रमण अनिश्चित, तर प्रचण्ड अहिलै उत्साहित

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण कहिले हुन्छ भन्ने अझै निश्चित भएको छैन । वैशाखमै भ्रमण हुने भनिए पनि त्यो हल्लामै सिमित भयो । अहिले फेरी जेठ महिनाभित्रै भ्रमण हुने चर्चा छ ।
चर्चाकै बेला प्रचण्ड भने निकै उत्साहित देखिएका छन् । उनले निकट भविष्यमा हुने आफ्नो भारत भ्रमणका क्रममा नयाँ रेकर्ड बनाउने बताएका छन् । शनिबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा मुलुकको पक्षमा नयाँ रेकर्ड बनाउने तयारी भइरहेको जानकारी दिएका हुन् । उनले केहि रेकर्डहरु नेपाल राष्ट्र र नेपालीको पक्षमा बनाउने आफ्नो तयारी रहेको जिकिर गरे ।
प्रधानमन्त्री दाहालले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु छलफलमा बस्दा भ्रष्टाचारबिरुद्धको अभियानलाई कमजोर बनाउने हो कि भन्ने आशंका उत्पन्न भएपनि आफुहरु संसदलाई सहज रुपमा अघि बढाउन छलफलमा बसेको स्पष्ट पारे । उनले अहिले पनि केहि मान्छेहरुबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको भन्दै शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरु फेरि एक ठाउँ उभिनुपर्ने स्थिति देखापरेको बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोहि पनि नछुट्ने र निर्दोष कोहि पनि नपर्ने गरि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा तल्लो वर्ग, उत्पादन, रोजगारी सिर्जना लगाएतका बिषयलाई प्राथमिकतामा राखेको बताए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया