भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ परेका छन् । बिहीबार अपरान्ह ५ बजे उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरिएको हो । रकम उठाउने गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
तेस्रो देश पुनःस्थापनामा छुटेका करिब ६ हजार ५ सय शरणार्थीको व्यवस्थापनका लागि उनले नै सुरुमा नेपाली नेताहरुसँग पहल गरेका थिए । त्यसक्रममा उनले तत्कालिन गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमै भेटेर ज्ञापन पत्र समेत बुझाएका थिए । उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए ।
रिजालले केही दिनअघि अनलाइनखबरसँगको कुराकानीमा अर्कै सिलसिलामा पैसा लिएको र आफूले फिर्ता गरिसकेको भन्दै आफूलाई फसाउन खोजेको भनी आपत्ति जनाएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया