प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा संसदमा सवाल जवाफ

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको विषयमा प्रतिनिधिसभामा सवाल जवाफ भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदबीच संसदमा जुहारी चलेको हो । बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको प्रधानमन्त्रीलाई भारत भ्रमणबाट रोकेर जनताले हटाएको पूर्वराजालाई स्वागत गरेर भारतले दवावको कुटनीति बनाएको तर्क गरेका छन् । उनले दवावको कुटनीतिमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
पन्तको भनाईप्रति असन्तुष्टी जनाउँदै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रतिवाद गरेका छन् । पौडेलले भ्रष्टाचारको विषयमा छानबिन भइरहेको बेलामा विषयान्तर गरेर अरु कुरा अगाडि नबढाउन आग्रह गरे । पौडेलले पन्तलाई जवाफ फर्काउँदै हावा कुरा गरेको बताए । उनले तथ्यमा बहस गर्न आग्रह गर्दै सबै दलसँग सुझाव लिएर मात्रै प्रधानमन्त्री भारत भ्रमणमा जाने बताए ।
प्रधानमन्त्री दाहाल वैशाख महिनामा नै भारत भ्रमणमा जाने चर्चा चलेपछि जेठ लाग्दासम्म भ्रमणको टुङ्गो लागेको छैन । पूर्वराजा ज्ञानेन्द्र शाह भने अहिले भारत भ्रमणमा छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया