पूर्वगृहमन्त्री बालकृष्ण खाँणको सरकारी वकिलको कार्यालयमा बयान हुँदै
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले सोमबार पनि बयानका लागि सरकारी वकिलको कार्यालय, बबरमहल लगेको छ । पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएको थियो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणमा पूर्वगृहमन्त्री खाँणको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनी गतसाता पक्राउ परेका थिए । उक्त प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी हिजो (आइतबार) थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
शरणार्थी प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरिसकेको छ । हिजोमात्र पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई आज म्याद थप गर्ने तयारी छ ।
सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका छन् । तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया