सभापति देउवामाथि एकैसाथ खनिए गगन–विश्व,के विद्रोहको तयारीमा लागेकै हुन त ?
ललितपुर । नेपाली कांग्रेसभित्र भएको किचलो छताछुल्ल हुन थालेको छ । महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको युवा पुस्ताले सभापति शेरबहादुर देउवा एक्लौटी रुपमा अघि बढेकै कारण पार्टी रुपान्तरणको बाटोमा जान नसकेको गम्भिर आरोप लगाएका छन् । थापाले पार्टीमा अति भयो भन्दै स्टाट्स नै राख्दा शर्माले भने सभापति देउवालाई नसुध्रिए महामन्त्रीबाट राजीनामा दिने चेतावनी दिएका छन् । कांग्रेसका महामन्त्री गगनकुमार थापाले आइतबार सामाजिक सञ्जालमा लेखेको एउटा स्टाट्सले पार्टीभित्र तरंग ल्याइदिएको छ ।
थापाको सो स्टाट्सले कांग्रेसमा भित्र–भित्रै ठूलै रडाको मच्चिरहेको छ भन्ने पुष्टि गर्छ । उनले लखेका छन् ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन, धेरै पटक लाग्यो प्रतिरोध गरूँ । तर, हरेक पटक सोचें, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखें, लडें, साथीहरूलाई सम्झाएँ । तर, अब त अति भयो रु
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउन पार्टीमा मन्त्री छनोट गर्दा देखिको आक्रोश महामन्त्री थापाले पोखेको कतिपयको बुझाई छ । तर, उनका भनाईले कांग्रेसभित्र आफू पेलिदै गएको र केही पनि सुनाई नभएको संकेत प्रष्ट रुपमा देखिन्छ । १४ औ महाधिबेशनबाट महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि पार्टीले अर्कै रुप लिने नेता तथा कार्यकर्ताको बुझाई थियो । तर, दुई महामन्त्रीलाई सभापति शेरबहादुर देउवाले टेर्दै टेरेनन् ।
नियुक्ती होस् या पार्टीका भातृसंगठनमा नेतृत्व चयन अनि सरकारमा मन्त्री पठाउने बिषयमा पनि सभापति देउवाले एक्लौटी निर्णय गर्दै आएका छन् । संसदीय दलको नेतामा देउवासँग चुनाव लडेका थापाले मन्त्रीमण्डलमा भाग खोजेका थिए । भत्किएको गठबन्धनलाई फेरि पुरानै ट्रयाकमा फर्काउन दौडधुप गरेका महामन्त्री थापालाई बेवास्ता गर्दै सभापति देउवाले ६ र नेता शेखर कोइराला पक्षले ३ जना मन्त्रीको भागबण्डा गरे ।
महामन्त्री थापाले सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परिवारलाई मन्त्री बनाउन चाहेका थिए । तर, कांग्रेसका ९ जना मन्त्री सरकार पुग्दा महामन्त्री थापाले एउटा पनि भाग पाएनन् । मन्त्री छनोटमा सभापति देउवा र नेता शेखर कोइरालाको दोहोरो चेपुवामा थापा परे । उपचुनावको मत परिणामलाई लिएर कांग्रेस सच्चिनुपर्ने एउटै स्वर गरेका महामन्त्रीद्धय थापा र शर्माको सुनुवाई पार्टी भित्र हुनै छाडेको उनीहरुको भनाई बाटै बाहिर आइरहेको छ ।
महामन्त्री शर्माले पार्टी सभापतिले आफ्नो कार्यशैली परिवर्तन नगर्ने भए आफू महामन्त्री रहनुको औचित्य नरहने भएकोले महामन्त्री पदबाट राजीनामा दिएर कार्यकर्ताकाबीच जाने चेतावनी पदाधिकारी बैठकमै दिइसकेका छन् । गत वैशाख २२ गते धुम्बाराहीमा भएको पदाधिकारी बैठकमा महामन्त्री थापा र शर्माले सभापति देउवाको कार्यशैलीको आक्रामक रूपमा विरोध गरेका थिए । उनीलाई जीवन परियार र प्रदीप पौडेलले समेत साथ दिएका थिए ।
सभापति देउवाको आलोचनामा युवा पंक्ति उभिएपनि उनीले त्यसको बेवास्ता गर्दै आएका छन् । कांग्रेस विधानअनुसार दुवै महामन्त्री प्रत्यक्ष निर्वाचनबाट आउने ब्यवस्था छ । पदाधिकारीमा कोषाध्यक्ष मात्रै मनोनीत गर्ने व्यवस्था छ । तैपनि सभापति देउवाले अहिलेसम्म कोषाध्यक्ष मनोनीत गरेका छैनन भने भातृसंगठन भताभुंग छन् । त्यो असन्तुष्टि महामन्त्रीद्धय थापा र शर्मा मात्रै होइन युवा पुस्ताले खरो विरोध गरिरहेका छन् ।
युवा पुस्ताको दवावले गल्न नसकेका सभापति देउवाको मनोमानी यथावत रहे विगतमा कम्युनिष्ट पार्टीहरुले अभ्यास गरेको जस्तो पार्टीसँग समानान्तर अभियान अगाडि बढाउने गृहकार्यमा उनीहरु जुट्न लागेको बिषयले कांग्रेसमा तरंग ल्याइदिएको छ । युवापुस्ताको दवाव र आलोचना सुन्न नसकेरै हुनसक्छ सभापति देउवाले केन्द्रीय समिति बैठक समेत पटक–पटक मिति तोक्दै सार्दै गरिरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया