Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नालीबेली : कसरी जित्यो आर्मीले ट्रफी ?


पोखरा । पटक पटक मिति सरेर गण्डकी प्रदेशमा आयोजना भएको नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा बिहीबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो ।

‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौं प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा समापन भएको हो । नवौंको उद्घाटन भने उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।

समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको थियो । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले दशौंको मिति घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको उनले जानकारी दिए ।

समापनमा टिम च्याम्पियन बनेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ट्रफी प्रदान गरिएको थियो । पहिलो पटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी बनाईएको छ ।

आर्मी १ सय ७२ स्वर्ण पदकसहित सर्वाधिक ३ सय ७१ पदक जितेर टिम च्याम्पियन बनेको हो । सुरुवातबाट पदक तालिकामा अग्रता लिएको आर्मी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरि कुल ३ सय ७१ पदकका साथ टिम च्याम्पियन बनेको हो ।

आर्मी लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । सातौं देखि आर्मी लगातार टिम च्याम्पियन रहँदै आएको छ । पछिल्लो दुई संस्करण जस्तै शीर्ष ३ मा विभागिय टोली रहे । त्यसअघि राष्ट्रिय खेलकुदको सुरुवाती तीन संस्करण बागमती अञ्चल र चौथो देखि छैटौंसम्म मध्यमाञ्चल च्याम्पियन बनेको थियो ।
नेपाल एपिएफ क्लब २ सय १९ पदक जित्दै दोस्रो स्थानमा रह्यो । एपिएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य पदक जितेको छ । कुल १ सय ९५ पदक जितेको नेपाल पुलिस क्लबले तेस्रो स्थान प्राप्त गरेको छ । पुलिसले ६१ स्वर्ण, ६१ नै रजत र ७३ कास्य पदक जितेको छ । प्रदेशतर्फ अगाडि रहेको गण्डकी प्रदेश १ सय २० पदकका साथ पदकतालिकाको चौथो स्थानमा रहेको छ । गण्डकी ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य पदक जितेको छ ।

पदक तालिकाको पाँचौ स्थानमा रहेको बागमतीले कुल १ सय ४५ पदक जित्यो । जसमा २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदक छ । प्रदेश १ अंकतालिको छैटौं स्थानमा रह्यो । प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य गरि कुल ८३ पदक जितेको छ । सातौं स्थानको सुदूरपश्चिम प्रदेशले समान १०–१० स्वर्ण र रजत तथा ४३ कास्य गरि कुल ६३ पदक जितेको छ ।

आठौं स्थानको एनआरएनएनले १० स्वर्ण, ९ रजत र ७ कास्य गरि कुल २६ पदक जितेको छ । नवौं स्थानको लुम्बिनी प्रदेशले ६ स्वर्ण, २२ रजत र ४० कास्य गरि ६८ पदक जित्यो । दशौं स्थानमा रहेको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरि ३९ पदक जित्न सफल भयो । दशौं राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश पदक तालिकाको पुछारमा रह्यो । कर्णालीले २ स्वर्ण, ४ रजत र १२ कास्य गरि कुल १८ पदक जितेको छ ।

नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा खेलाडीले ३ सय ९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए । यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाएका थिए ।

यस पटक ३६ खेलका ३ सय ९६ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा भएको थियो । समापनमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो ।

 


क्याटेगोरी : देश, प्रमुख समाचार
ट्याग : #नवौं राष्ट्रिय खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode