शरणार्थी प्रकरण : एमाले नेता जोगाउन अध्यक्ष ओलीको दौडधुप !
काठमाण्डौ । आज एकाएक नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सिंहदरबार पुगे ।
दुई नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट भएको हो । हत्तपत्त ओली कसैलाई भेट्न जाँदैनन् । बरु आफ्नै निवासमा बोलाउँछन् । तर विहिबार भने ओली आफैँ सिंहदरबार पुगे । आफ्नै पार्टीका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जि जारी भएको भोलिपल्ट ओलीको दौडधुप सुरु भएको हो ।
नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग मिलेर रायमाझीले पनि पैसा लिएको भेटिएको छ । नक्कली शरणार्थी बनाउने गिरोहका एक सानु भण्डारीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना सफल बनाउन रायमाझीलाई करिब ६० लाख रुपैयाँ दिएको बयानमा पनि खुलाएका छन् । यसैको आधारमा रायमाझी तानिएका हुन् । उनका छोरा सन्दिप रायमाझी पक्राउ परिसकेका छन् ।
एमालेकै उपाध्यक्ष रामबहादुर थापाका छोराविरुद्ध पनि पक्राउ पुर्जि जारी भएको छ । यसरी एमालेका नेता र तिनका छोराहरु आरोपित भएपछि ओली सक्रिए भएका हुन् । ओलीको सक्रियतालाई आफ्नो पार्टीका नेताहरुलाई जोगाउने प्रयासका रुपमा हेरिएको छ ।
प्रधानमन्त्री प्रचण्डसँगको करिब १ घण्टा लामो भेटवार्तामा एमाले अध्यक्ष ओलीले सांसद तथा पार्टी पदाधिकारीसमेत रहेको व्यक्तिलाई बाटोबाटै पक्राउ गरिएकोमा असन्तुष्टि मात्रै जनाएनन्, ‘षडयन्त्र त होइन ?’ भनेर प्रश्नसमेत गरे । यद्यपि, उनले दोषी भए अनुसन्धानमा एमाले बाधक नबन्ने, बरु सघाउने प्रतिबद्धता भने जनाए ।
प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले तानिएको हो कि तनाएको हो भनेर अध्ययन गरिरहेको जवाफ दिए । उनले दोषी उम्काउने प्रयास नहुने तर निर्दोष फसाउन खोजियो भने सहन नसक्ने भनेर चेतावनीको भाषासमेत प्रयोग गरेका छन् ।
उनले थपे, ‘चार वर्षअगाडि चेक काटेको छ । त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । बहालवाला सांसद कतै भागेर जाने कुरा होइन ।’
ओलीले रायमाझी पक्राउ परिसकेको जस्तो गरी अभिव्यक्ति दिए पनि पक्राउ परिसकेको कुरा स्वतन्त्र पुष्टी भइसकेको छैन । संगठित अपराध र ठगि मुद्दामा बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् । त्यस्तै उपाध्यक्ष बादलमाथि पनि अनुसन्धान भइरहेको छ । उनको नाममा पनि पक्राउ पुर्जी जारी गर्ने अन्तिम तयारीमा अनुसन्धानमा संलग्न प्रहरी रहेको बुझिएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रम्ुख आयुक्त प्रेमकुमार राई पनि तानिने स्थिति छ । पूर्व गृहसचिव राईलाई ओलीले नै प्रमुख आयुक्त बनाएका हुन् । एकपछि अर्को गरी आफ्ना निकटस्थहरु पक्राउ पर्ने खतरा बढेपछि ओली सक्रिय भएका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया