Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

एनआरएनए अभियानलाई चीरस्थायी बनाउन हठ त्याग्न संस्थापक अध्यक्ष डा. महतोको अनुरोध, महाधिवेशनमा सहभागि नहुने


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेन हुन नसक्ने भएकोले उक्त महाधिवेशनमा आफ्नो कुनै संलग्नता र सहभागिता नरहने स्पष्ट पारेका छन् ।

आज (सोमबार) साँझ एक विज्ञप्ती जारी गर्दै महतोेले गैरआवासीय नेपाली संघ संस्थामात्र नभएर अभियानपनि भएको उल्लेख गर्दै अभियानलाई विचलित पार्नेगरि मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने निश्कर्ष निकालेका छन् ।

डा. महतोले सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन पनि अनुरोध गरेका छन् । अहिलेको अप्ठ्यारो परिस्थितिमा धैर्य गरी आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैलाई उनको अनुरोध छ ।

यस्तो छ महतोले जारी गरेको विज्ञप्ती :

‘व्यक्तिगत सफलताको जतिसुकै उचाईमा पुगेपनि यदि देश सम्पन्न छैन भने व्यक्तिगत सफलताको कुनै अर्थ हुँदैन’ भन्ने उद्देश्यले विदेशमा सिकेका ज्ञान, सीप, पुँजी र प्रविधिलाई मातृभूमि नेपालको विकासका लागि सदुपयोग गर्दै समृद्ध नेपाल बनाउने सपनासाथ २२ वर्ष पहिले गैरआवासीय नेपाली अभियान सुरू गरेका थियौं ।

‘नेपालीका लागि नेपाली’ भन्ने मर्मका साथ हजारौं साथीहरुको मेहनत र पसिनाले यस संस्थाले छोटो समयमा संसारभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई एकबद्ध गर्दै मातृभूमि नेपालप्रति केही गर्नुपर्छ भन्ने जागरण फैलाउन सफल भयौं । साथै, राष्ट्रले पनि बाहिर बस्ने नेपालीहरुलाई विकासको साझेदारको रूपमा पहिचान गर्न सक्यो । तर विडम्बना, पछिल्लो समयमा यो अभियानको मूल मर्ममाथि प्रहार भइरहेको महसुस गरेको छु । हामी सबैलाई यस अभियानप्रति अत्यन्त माया हुँदाहुँदै पनि केही विषम परिस्थितिको सामना गर्नुपरेको अवस्था छ । अहिलेको विषम परिस्थितिलाई मनन गर्दै मैले एउटा प्रस्ताव अघि सारेको थिएँ । संस्थाको विधानअनुसार आगामी जुलाइमा सबै राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न गरी त्यसबाट आएका प्रतिनिधिहरूद्धारा सन् २०२५ को अगष्टको पहिलो हप्तामा औपचारिक, वैधानिक र वास्तविक एकताको महाधिवेशन गरौं । वैधानिक र कानूनी हिसाबले त्यो सम्भव थियो । र, विद्यमान जटिल परिस्थितिको निकासका लागि उक्त प्रस्ताव जरूरी थियो । यो सम्मानित सर्वोच्च अदालतको निर्णयको मर्मअनुरुप वास्तविक एकताको महाधिवेशनको सम्भावना हुँदाहुँदै पनि केही व्यक्तिको हठ र गलत बुझाईको कारण त्यो सम्भव हुन सकेन ।

गैरआवासीय नेपाली संघ संस्थामात्र होइन, अभियानपनि हो । यसर्थ, यस अभियानलाई विचलित पार्नेगरि मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले त्यस महाधिवेशनमा मेरो कुनैपनि संलग्नता र सहभागिता नरहने स्पष्ट पार्दछु ।

अन्त्यमा, सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन हार्दिक अनुरोध गर्दछु । यस अप्ठ्यारो परिस्थितिमा धैर्य गरी आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैमा अनुरोध गर्दछु ।

यसैबीच एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचन प्रयोजनका लागि प्रथम मतदाता नामावली प्रकाशित गरेको छ ।

निर्वाचन समितिले सोमबार एक सूचना प्रकाशित गर्दै महाधिवेशनमा भाग लिनका लागि योग्य ठहरिएका ६२५ जनाको नामावली प्रकाशित गरेको हो। थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशित गरिने पनि समितिले जनाएको छ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode