बहसमा बीआरआई : सिंहदरबारमा भेला भएका शीर्ष नेताले के भने ?

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । आशन्न चीन भ्रमणका सम्बन्धमा सोमबार सिंहदरबारमा पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका हुन् । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा कोही पनि लाग्न नहुने उनले बताए । उनले पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वाेपरी प्राथमिकतामा राख्ने समेत बताए ।
छलफलपछि पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले बीआरआईलाई नेपालको हितका लागि अघि बढाउन सुझाव दिएको जानकारी दिए । उनले भने, ‘वीआरआई नेपालको हितको विरुद्धमा छैन । यसबाट नेपालले लाभ लिनुपर्छ । लाभ लिने विषयमा हामीले सबैसँग सम्बन्ध राख्ने गरेका छौं । वीआरआईसँग त हामी उहिले नै आवद्ध भइरहेका छौं ।’
त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआइ परियोजना नेपालका लागि फाइदाजनक भएकाले यसलाई अघि बढाउन सुझाव दिएका छन् । त्यस्तै पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले बीआरआई लगाएतका परियोजना मुलुकको हितका आधारमात्र अघि बढाउने सुझाव दिएका छन् ।
छलफलका क्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।
यस्तै सत्ता साझेदार दल कांग्रेसका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री एनपी साउद सहभागी थिए । छलफलमा साउदले कांग्रेसकातर्फबाट धारणा राख्दै बीआरआई कार्यान्वयनमा सम्झौता गर्न नहुने बताएका थिए । साउदबाहेक माओवादी केन्द्र, एकीकृत समाजवादीसहित बहुमत नेताहरूले भने बीआरआई परियोजना सम्झौता गर्नुपर्ने सुझाव दिएका थिए ।
‘बीआरआइबारे पहिला नै हस्ताक्षर भइसकेको छ । त्यसकारण यसबारेमा नेपालका पार्टीहरुमा थप पारदर्शी छलफल गर्न आवश्यक छ भनेर मैले भनेको छु’, साउदले भने, ‘सहयोग लिनुपर्ने भए दुई पक्षीय सम्झौता पनि गर्न सकिन्छ यसका लागि बीआरआई प्रोजेक्ट नै राख्नुपर्छ भन्ने छैन ।’
चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको प्रधानमन्त्रीले जानकारी गराएका छन् ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भने विआरआईलाई अनुदानमा अघि बढाउनुपर्ने बताएका छन् । सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै देउवाले विआरआईलाई ऋणमा नभइ अनुदानमा अघि बढाउनुपर्ने पार्टीको निर्णय रहेको जानकारी दिएका हुन्।
क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश
प्रतिक्रिया