Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

दरबारमार्गमा केपी ओली : दुर्गा, रवि र कुलमानसँग असन्तुष्ट, देउवालाई फकाउने प्रयास


काठमाण्डौ । नेकपा एमाले, जो सत्ताको नेतृत्वमा छ, अध्यक्ष केपी ओली प्रधानमन्त्री छन्, उनै प्रधानमन्त्री ओली काठमाण्डौको दरबारमार्गमा एमालेले गरेको जागरण सभामा उपस्थित भएर लामो भाषण गरे । सम्बोधनका क्रममा ओलीले आफूमाथि लागेका व्यक्तिगत आरोपको खण्डनमा धेरै समय खर्चिए । विशेषगरी दुर्गा प्रसाईले कम्बोडिमामा ओलीको लगानी रहेको भनेर गरेको झुटो प्रचारको प्रतिवादमा धेरै समय खर्चिन पुगे । अफवाह फैल्याएको आरोपमा पक्राउ गरेर अनुन्धानमा रहेका उनै प्रसाइले लगाएको आरोप ओलीलाई निकै भारी परे जस्तो देखिन्थ्यो ।

‘२१ हजार करोड डलर, स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जानुहुन्न । यस्ता फाल्तु कुराहरू गरेर केही हुनेछैन’, प्रधानमन्त्री ओलीले जवाफ दिँदै भने, ‘देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउनका लागि यस्ता कुराहरू भएका हुन् ।’

त्यस्तै प्रसाईंले बैङ्कको ऋण तिर्नुपर्दैन भनेर चलाएको हल्लालाई अराजकताको संज्ञा दिए । ‘हामी सुन्छौ कहिले बैङ्कको ऋण तिर्नुपदैन भनेर कराएर हिँड्छ । बैङ्कको ऋण लिएपछि तिर्नुपर्दैन ?’, प्रसाईं र उनको अभियानप्रति लक्षित गर्दै ओलीले भने, ‘तिर्नुपर्दैन भनेर कराएर हिँड्छ किनभने देशको अर्थतन्त्र र मौद्रिक स्थितिलाई छ्यालब्याल, अस्तव्यस्त र ध्वस्त बनाउन ।’

जनता कसैको भ्रममा नपर्ने उल्लेख गर्दै ओलीले कसले कति कमाएको छ भन्ने जनतालाई थाहा भएको तर्क पेस गरे । ‘कम्बोडिया भन्ने देश त्यहीँ छ चार घण्टाभित्र फ्लाइटमा पुगिन्छ यहाँबाट बैंकक, त्यहाँबाट ४५–५५ मिनेटमा पुगिन्छ, त्यहीँ छ’, ओलीले आरोपको खण्डन गर्दै भने, ‘त्यहाँको टेलिकममा क–कसको लगानी छ भन्ने नयाँ कुरा, थाहा पाउन नसकिने अनौठो कुरा हो र ?’

ओलीले कानुन विपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने बताए ।

ओलीको निशानामा रास्वपाका सभापति रवि लामिछाने पनि परेका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेपछि रविले ओली सरकार ढाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । ओली नेतृत्वको यो सरकार रहिरहँदा देशले धेरै दुख पाउने रविको भनाइ थियो । रविलाई लक्षित गर्दै ओलीले आफू सहकार ठगी गर्ने अनि अरुलाई गाली गर्ने गरेको बताए । उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने बताए ।

‘आफैँ सहकारी ठगी गर्ने अरूलाई मुख छाड्ने ? गाली गर्ने ? कुनै पनि प्रकारको भ्रष्टाचार, ठगी र मानव तस्करी सैह्य हुनेछैन । अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन कारबाही गर्छ’, ओलीको चेतावनी छ ।

ओली नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पनि असन्तुष्ट देखिए । विद्युतको बक्यौता विवादलाई लक्षित गर्दै ओलीले भने– ‘केही उद्योग चलिरहेका छन् भने ती उद्योगको पनि लाइन काट्ने ? अहिले सरकारले भनिरहेको छ–विद्युत् महसुल आयोगले जे भनेको छ टिओडीअनुसार बक्यौता उठाऊ’, ओलीले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको निर्णयको प्रतिवाद गरे ।

टिओडी अनुसार बक्यौता नउठाउने अनि विद्युत् लाइन काटेर उद्योग बन्द गर्ने कुरा सरकारलाई स्वीकार्य नहुने भन्दै ओलीले भने, ‘उद्योगको लाइन काटेर मजदुरहरू बेरोजगार बनाउने षड्यन्त्र भइरहेका छन् । समुदायमा विद्वेष खलबल्याउने काम भइरहेको छ ।’

ओलीले कांग्रेससँगको गठबन्धनको बचाउ गर्दै अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने बताए । ओलीले अहिलेको समीकरणले पुरै समय काम गर्ने स्पष्ट पार्दैै कसैले चाहेर हल्लाउन नसक्ने दावी गरेका हुन् । बरु कांग्रेससँगको सहमति पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री बन्न पालो कुरेर बसेका कांग्रेस सभापति शेरबहादुर देउवालाई आश्वस्त पार्ने प्रयास गरे । २०८३ साल असारमा आफूले देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने ओलीको भनाइ छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने बताए । उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताए । विशेषरी चिनियाँ परियोजना बीआरआई कार्यान्वयनका क्रममा ऋणमा नभै अनुदानमा गर्नुपर्ने ओलीको आशय थियो ।

सरकारकै नेतृत्व गरेर पनि सडकमा कार्यक्रम गरेको आरोप खेपेको एमालेले त्यसको पनि जवाफ दिएको छ । जागरण सभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमाले जनताको पार्टी भएकाले जनतामा गएर पार्टीविरुद्ध खडा गरिएका भ्रमहरूलाई चिर्न खोजिएको स्पष्ट पारे । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस्तै कार्यक्रम गर्ने गरेको भन्दै आलोचना गर्न जरुरी नभएको बताए ।


क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode