रवि लामिछानेले हात हल्लाउंदै भने–‘खोरमा थुनिँदैमा बाघ स्याल हुंदैन’ बयान बुधबार पनि

बुटवल । सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देहीको भैरहवा पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गर्दै बुधबार निरन्तरता दिन लागिएको हो ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा लगिएको थियो । प्रहरीले उनलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगेको थियो ।
बयान दिएर फर्कने क्रममा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले समर्थकलाई हेरेर हात हल्लाउंदै ‘खोरमा थुनिँदैमा बाघ स्याल हुंदैन’ भने ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।
सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए । तर, अहिले प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले अहिले तयार गरिरहेको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका छन् । गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन् । केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ । रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन् ।
सहकारी ऐन–२०७४ को दफा १२२ अनुसार ‘झुट्टा वा गलत विवरण पेस गरी कर्जा लिएमा’ र कृत्रिम व्यवसाय खडा गरी वा गराई ऋण लिएमा वा दिएमा’ कानुनी कारबाही हुने व्यवस्था छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया