बाढी पहिरोमा परेर २ सय १७ जनाको मृत्यु, कोशी प्रदेशमा पुनःभारी वर्षाको खतरा

काठमाण्डौ । केही दिन अत्याधिक पानी परेर खुलेको मौसममा आजदेखि पुनः बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशबाट फेरि बदली सुरू भएको हो । कोशीको असर मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ । विशेषगरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ । उक्त वर्ष मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा भने पानी पर्ने सम्भावना कम छ । यो असर भोलि र पर्सिसम्मै रहने जनाइएको छ । तर, ठूलो अनि लगातारको वर्षा भने नहुने बताइएको छ ।
यसअघि ३ दिनको लगातारको झरीले देशभर जमिन गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको छ । असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।
२ सय १७ जनाको मृत्यु
अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २ सय १७ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयका अनुसार २८ जना अझै बेपत्ता छन् । मन्त्रालयको आज बिहानसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन् । अझै ६ जना बेपत्ता रहेका छन् । धादिङ र ललितपुरमा ३९÷ ३९ जनाले ज्यान गुमाएका छन् । काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुर र दोलखामा ७÷७ जनाको मृत्यु भएको छ । योसँगै बागमती प्रदेशका १३ वटा जिल्लामा १ सय ९२ जनाको मृत्यु भएको छ ।
ललितपुरमा ११ जना अझै बेपत्ता छन् । पाँचथरमा ६ जनाको मृत्यु भएको छ। भक्तपुर र सोलुखुम्बुमा ५÷५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २÷२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १÷१ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ । घाइते भएका १ सय ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया