उपप्रधानमन्त्री श्रेष्ठ सडकमा, ठेकेदार कम्पनीलाई दिए कडा चेतावनी

काठमाण्डौ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समयमा नै काम सम्पन्न नगर्ने कम्पनीसंग सम्झौता तोड्ने चेतावनी दिएका छन् ।
बिहीबार भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म स्थलगत सडक अनुगमन गर्दै मन्त्री श्रेष्ठले भक्तपुर–नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै समयमा नै काम सम्पन्न नगर्ने कम्पनीसंग सम्झौता तोड्ने चेतावनी दिएका हुन् । उनले अबको एक महिनाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज गर्ने बताए । उक्त सडकखण्ड निर्माणको काम शैलुङ कन्स्ट्रक्सनले गरिरहेको छ । निर्माण कम्पनीले भक्तपुर–नगरकोट सडकको निर्माणमा उपेक्षा गरेको भन्दै उनले काम सम्पन्न नगर्ने र समयमै गुणस्तरीय काम गरेर हस्तान्तरण नगरे अब थप समय नदिने स्पष्ट पारे ।
उनले निर्माण व्यवसायीले नयाँ सडक थप्दै जाने र पुराना सम्झौता भएका सडक अलपत्र पार्दै जाने कार्य अब दोहरिन नदिने स्पष्ट पारेका छन् । त्यस्तै शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले बीचमा रुख कटान, विद्युतको पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाइ भए पनि अबको एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गरिने बताए ।
उपप्रधानमन्त्री श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगाएतले सडक निर्माणको अवस्थाबारे जानकारी लिएका थिए ।
क्याटेगोरी : देश
प्रतिक्रिया