आँबुखैरेनी बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २७ पुग्यो, १६ जना घाइते

तनहुँ । तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मस्याङ्दी नदीमा खसेको भारतीय बसमा सवार २७ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आँबुखैरेनी अस्पतालले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । अन्य तीन जनाको शव घटनास्थलमा बस मुनी फेला परेको छ भने एक जनाकोे चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा परी मृत्यु भएकाहरुको पोष्टमार्टम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा हुने भएको छ ।
बाँकी १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । उनीहरुको उपचार भइरहेको छ । बसमा ४३ जना रहेकोमा ४३ जनाकै अवस्था पत्ता लागिसकेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेकाहरु भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएका थिए । ५ भदौमा पोखरा पुगेर २ दिन घुमेर शुक्रबार काठमाडौं भ्रमणका लागि आउँदै गर्दा दुर्घटना परेको खुलेको छ । ८ दिनको पास लिएर नाकाबाट छिरेका उनीहरू दुई दिन पोखरा बसेर शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए ।
यात्राकै क्रममा उनीहरु आज आँबुखैरेनीमा दुर्घटनामा परेका हुन् । यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनामा परेको हो ।
क्याटेगोरी : देश
प्रतिक्रिया