सोलुखुम्बुको थामे गाउँमा भीषण बाढीले वस्ती डुबानमा, ७ जनाको उद्वार

सोलुखुम्बु । सोलुखुम्बुको थामे गाउँमा आज दिउँसो भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोला थामेमा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ मा पर्ने थामे गाउँ डुबानमा परेको छ ।
बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले ७ जनाको उद्धार गरेको हो । बाढी आएको क्षेत्रका एक जना सम्पर्कविहीन भएका छन् । बाढीले १२ वटा घर, हिमालयन ट्रस्टको क्लिनिक र विद्यालय बगाएको छ । सिंगो थामेमा बाढी पसेको हुनाले उक्त क्षेत्रका ७ वटा घर अझै जोखिम पूर्ण अवस्थामा छन् । थामेमा सञ्चार र विद्युत् सेवा प्रभावित बनेको छ ।
बाढीले दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिक त्रसित छन् । हिमताल फुटेर उक्त बाढी आएको बताइएको छ । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढेको थियो । वस्तीमा बाढी पसेपछि उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली पुगेको थियो । गृह मन्त्रालयले नदी तटीय क्षेत्रमा खोज तथा उद्धार र विपद व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्न निर्देशन दिएको छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया