Techie IT
  • २३ मंसीर २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

एयर डाइनेस्टीको हेलिकप्टर यसरी भयो दुर्घटना, आजै छानबिन समिति गठन


सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको दुई हप्तापछि नै फेरी अर्को हवाई दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना नेपाली नागरिक अर्थात हेलिकप्टरका क्याप्टेन र चार जना चिनियाँ नागरिक रहेका छन् ।

रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो । सवा १ बजे त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर सूर्यचौर डाँडा र गुर्जेभन्ज्याङको बीचमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना नेपाली नागरिक अर्थात क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरु जुतड ताङ, जेइली, सीयाद वी र जीक्वीङ सी रहेका छन् ।

उनीहरू काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीतर्फ उडेका थिए । काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकप्टर एटिसीसँग सम्पर्क टुटेको विमानस्थलले जनाएको छ । पानी नपरे पनि नुवाकोट, ककनी नजिकैको सूर्यचौरमा बुधबार बिहानैदेखि हुस्सु लागेको थियो । बाक्लो कुहिरोले वारिपारि देख्न पनि मुस्किल हुन्थ्यो ।

मध्याह्नपछि हुस्सु फाट्न थाले पनि शिवपुरीको मध्यवर्ती क्षेत्र रहेको सूर्यचौरको अवस्था भने उस्तै थियो । बुधबार दिउँसो सवा २ बजेतिर एक जना महिलाले सूर्यचौरमाथि एकाएक धुँवाको मुस्लो देखेकी थिइन् । उनले अरू गोठालाहरूलाई खबर गरेपछि तिनै गोठालाहरूले धुवाँ देखिएको जानकारी प्रहरीलाई दिएका थिए । त्यसपछि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सँगसँगै पुगेका थिए । त्यसबेला हेलिकप्टर जलिरहेको थियो ।

प्रहरीले एक जना महिला र चार जना पुरुषको शव निकालेको थियो । दुर्घटनाको कारणबारे पत्ता लागेको छैन । उक्त उडान हुँदा भिजिविलिटी ५ किलोमिटर तथा सामान्य रहेको भनिए पनि खराब मौसमकै कारण हेलिकप्टर दुर्घटना भएको आशंका गरिएको छ ।

यसैबीच हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु भएको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको छ ।

चिनियाँ नागरिकको निधन भएकोमा सरकारले दुःख व्यक्त गर्दै मृतकका परिवार र चीन सरकारप्रति समवेदना व्यक्त गरेको छ ।

 

 


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode