पत्रकार अर्याललाई धम्की दिनेलाई कारबाही गर्न पत्रकार महासंघ ललितपुर शाखाको माग

ललितपुर । समाचार लेखेको विषयमा पत्रकार दिपक अर्याललाई धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाका कोषाध्यक्षसमेत रहेका अर्यालले एक जना शिक्षक एमालेको अधिवेशनमा प्रतिनिधिको रुपमा सहभागि भएको विषयमा समाचार लेखेका थिए । उक्त समाचारप्रति असन्तुष्टि जनाउँदै एक अपरिचित व्यक्तिले ९८४३६३४११२ नम्बरको मोबाइलबाट फोन गरेर धम्की दिएको शाखाले जनाएको छ । खोजमिसन न्युजका प्रकाशकसमेत रहेका अर्यालले ‘माल्टाका शिक्षक ठाकुरमान एमाले अधिवेशन प्रतिनिधि’ शीर्षकमा समाचार लेखेका थिए ।
उक्त समाचारका विषयमा विहिबार एक व्यक्तिले फोन गरेर अर्याललाई धम्की दिएका थिए । “प्रकाशित समाचारको विषयमा चित्त नबुझे विभिन्न निकाय जाने बाटो हुँदा हुँदै अपरिचित व्यक्तिले नयाँ नम्बरबाट धम्की दिनु खेदजनक छ ।” शाखाको विज्ञप्तिमा भनिएको छ । साथै धम्की दिने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ ।
शाखाका सचिव रामहरी कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ –“धम्कीले हाम्रो कलम रोकिने छैन । पत्रकार अर्याललाई पत्रकारिताको कलम निरन्तर दौडाउन हौसला प्रदान गर्दछौँ । तर राजनीतिक दलहरुबाटै हामी असुरक्षित हुने हो भने सत्य कुरा समाजमा लुक्ने खतरा छ ।”
केही दिनअघि मात्रै शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीहरु कुनै पनि राजनीतिक दलमा आवद्ध भए उजुरु दिन आग्रह गरेकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत शिक्षक–कर्मचारीलाई दलीय राजनीति नगर्न सचेत गराउँदै त्यसो गरेको पाइएमा उजुरी दिन भनेकी हुन् ।
उनले शिक्षा ऐन, २०२८ दफा १६(ङ) को उपदफा ५ खण्ड (५) को बुँदा उल्लेख गर्दै बहालवाला शिक्षक कर्मचारी राजनीतिक दलमा आवद्ध भए पदबाट हटाइने प्रावधान उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएकी थिइन् ।
उनले यस्तो कहीँ कतै पाइएमा शिक्षा मन्त्रालयमा जुनसुकै माध्यमबाट उजुरी गर्न पनि आग्रह गरेकी छन् । तर सरकारको नीति विपरित शिक्षकहरु राजनीतिमा सक्रिय हुँदै आएका छन् ।
क्याटेगोरी : देश
प्रतिक्रिया