नेकपा माओवादी केन्द्र अभियानको तयारीमा, खट्ने कार्यकता र नेतालाई सम्मान
काठमाण्डौ । नेकपा माओवादी केन्द्रले चैत्र १ गतेबाट बिभिन्न अभियान सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको स्थायी कमिटी बैठकले तराई मधेस जागरण अभियान, उत्तर दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्नेगरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । त्यस्तै माओवादीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत खट्ने कार्यकता र नेतालाइ सम्मान गर्ने भएको छ ।
नेकपा माओवादी केन्द्रले पाचौं केन्द्रीय समिति बैठकमा गत भदौदेखि सुरु भएको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’मा काम गरेका नेता कार्यकर्ताको मूल्यांकन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार माओवादी केन्द्रले स्थायी समितिमा छलफल सुरु गरेको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
पार्टी केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले चार महिनासम्म चलेको अभियानमा शतप्रतिशत खट्नेहरुलाई बधाई पत्र, त्यस्तै ६० देखि ९० प्रतिशत समय दिएर खट्नेलाई धन्यवाद पत्र र १५ देखि ६० प्रतिशत समय खट्नेलाई सतर्कतापत्र दिने निर्णय गरेको थियो । यस्तै १५ प्रतिशतभन्दा कम खट्नेलाई भने स्पष्टीकरण पत्र दिएर कारवाही गर्ने निर्णय माओवादीले गरेको थियो ।
बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा को–को उत्कृष्ट भए प्रत्येक प्रदेशका तीन जना र सबभन्दा नराम्रो गर्ने तीन जनाको नाम प्रस्तुत गर्न भनेका छन् ।
बिहीबार बसेको बैठकमा रुपान्तरण अभियानको मूल्यांकन, नयाँ अभियान सञ्चालनकाल लागि योजना र संगठनात्मक जिम्मेवारी हेरफेरको एजेन्डामा छलफल सुरु गरेको छ । बैठक शुक्रबार पनि बस्ने भएको छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया