अस्थिरताको नमुना कोशी प्रदेश : विश्वासको मतपछि सर्वोच्चमा मुद्वा
काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको भन्दै नेकपा एमाले पुनः सर्वोच्च अदालत पुगेको छ । कोशी प्रदेशसभामा मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि थापाको पक्षमा मतदान गरेको र त्यसले संविधान र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको भन्दै बाध्य भएर सर्वोच्च आउनुपरेको कोशी प्रदेश नेकपा एमालेले जनाएको छ । मत बराबर पनि नभएको अवस्था र मत बिभाजनको समयपनि सकेर मत सच्चाउने क्रममा मतदान गरि पुन सभाध्यक्षको कुर्सीमा फर्कनु संविधानको धारा १८६ र प्रदेशसभा नियमावली बिपरितको कार्य भएको एमालेको जिकिर छ ।
मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरिरहेका मन्सुरीले मतदान गरेका थिए । यही विषयको विरोधमा कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरुले बहिष्कार गरेपछि प्रभावित भएको छ । बुधबार बसेको बैठक सुरु हुने बितिकै एमाले र राप्रपाका सांसदहरुले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लङ्घन भएको भन्दै बहिष्कार गरेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।
एमाले र राप्रपाका सांसदले नारावाजी गर्दै बहिस्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित गरेका छन् । संघीयता लागु भएपछि कोशी प्रदेश सबैभन्दा अस्थिर र विवादको भुमरीमा परेको छ । संघीयताको साढे पाँच वर्षमा कोशी प्रदेशमा पाँच जना मुख्यमन्त्री भएका छन् भने झण्डै ५० जना मन्त्री भइसकेका छन् । प्रदेश सभाको पहिलो कार्यकालमा एमाले एक्लैको बहुमत हुँदासमेत प्रदेशमा तीन मुख्यमन्त्री र ३४ जनाले मन्त्री हुने अवसर पाएका थिए । दोस्रो कार्यकालमा सुरुमा एमाले र माओवादीसहितको गठबन्धनबाट एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । तर पछि माओवादीले एमालेसँगको गठबन्धन ताडेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए । त्यसपछि विश्वासको मत लिने क्रममा एकपछि अर्को विवाद थपिइरहेको छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया