सुन प्रकरणमा कांग्रेसले दियो प्रचण्डलाई साथ, एमालेको माग अस्विकार
काठमाण्डौ । नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी एमालले उच्चस्तरीय छानविन आयोग गठनको माग गरिरहेको अवस्थामा कांग्रेस संसदीय दलको बैठकले भने सुन तस्करी प्रकारणमा राज्यको निकायले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको हो । संसद भवन नयाँ बानेश्वरमा सोमबार सम्पन्न कांग्रेस दलको बैठकपछि मुख्य सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणमा राज्यले स्थायी रुपमा गठन गरेका निकायले छानविन गरेको भन्दै सरकारले गम्भीर रुपमा लिएर निष्कर्षमा पुराउनुपर्ने बताए ।
‘सरकारका महत्वपूर्ण निकायको निगरानी हुने ठाउँमा सुन तस्करी हुने र गैरकानूनी कार्य पूर्णरूपमा निस्तेज हुनुपर्छ । जोसुकै दोषीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ र निष्पक्ष स्वतन्त्र र गहिराई र स्वतन्त्ररूपमा छानबिन हुनुपर्छ’, निर्णय सुनाउँदै उनले भने । लेखकले दोषी नउम्किउन्, निर्दोष नफसुन् भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
बैठकले आफ्ना कुरा राख्न प्रतिपक्षीले आलोचनात्मक ढंगले प्रस्तुत हुन स्वभाविक भएपनि लामो समय सदन अवरुद्ध गर्ने कार्य गैरजिम्मेवार भएको निष्कर्ष निकालेको छ । बैठकले लामो समय सदन अवरुद्ध हुँदा जनचासोका बिषय लगाएत महत्वपूर्ण विधेयक अघि बढ्न नसकेको अवस्थामा सत्तारुढ लगाएत प्रतिपक्षीसंग वार्ता र संवाद गरि सदनको अवरोध अन्त्य गर्न पहल गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया