देश र जनताको हितमा काम गर्ने पार्टी एमाले हो : ईश्वर पोखरेल

काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् । काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पोखरेलले बिहिबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताएका हुन् ।
कुनै पार्टीहरू राजनीतिक स्थायित्वका लागि उभिन नसकेको भन्दै आर्थिक विकास र समृद्धिका लागि एमालेलाई आगामी निर्वाचनमा जिताउन आवश्यक रहेको पोखरेलले बताए । नेता पोखरेलले छिमेकीले नाकाबन्दी लगाएको बेलामा र आफ्नो भूमि फिर्ता लिने सन्दर्भमा एमालेबाहेक अरु कुनै पार्टीले दृढ अडान लिन नसकेको स्मरण गराए ।
त्यस्तै उनले नेपाली नागरिकले आमाको नामबाट पनि नागरिकता पाउनुपर्छ भन्नेमा एमाले रहेको स्पष्ट पारे । नेता पोखरेलले अंगीकृत नागरिकताको सन्दर्भमा सर्तकता अपनाउनुपर्ने भन्दै ठीक ढंगबाट अडान लिन नसके देशको स्वाभिमान, अस्तित्व र स्वतन्त्रतामाथि समेत आँच पुग्नसक्ने बताए । उनले चीन सरकारको सहयोगमा दोस्रो चरणमा निर्माण हुने चक्रपथ विस्तारलाई कलंकीदेखि धोबीखोलासम्म पु¥याउन पहिलादेखि गरिरहेको पहलकदमीलाई तिव्रता दिने प्रतिबद्धता जनाएका छन् । काठमाण्डौ क्षेत्र नम्बर ५ का एमालेका उम्मेदवार पोखरेल, सोही क्षेत्रको प्रदेशसभा एकका उम्मेदवार नारायण सिलवाल र प्रदेश सभा दुईका उम्मेदवार दीपक निरौलाले एकसाथ प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन् ।
क्याटेगोरी : देश
प्रतिक्रिया