सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका–५को लामजुरा क्षेत्रमा दुर्घटना भएको थियो । उक्त दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको हो । मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।
क्याप्टेन चेतबहादुर गुरुङको पनि निधन भएको छ । मृत्यु भएकाको शव काठमाडौं ल्याउन दुई वटा हेलिकप्टर परिचालन भएका छन् । हेलिकप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको थियो । दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले छानबिन समिति बनाउने बताएका हुन् ।
क्याटेगोरी : देश
प्रतिक्रिया