शरणार्थी प्रकरण र भ्रष्टाचारविरुद्व सबै दलका युवा नेता एकमत
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि छाड्न नहुने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै थापाले राज्यविरुद्धको अपराधमा एकजना मान्छे पनि छाड्न नहुने बताएका हुन् । उनले शरणार्थी प्रकरणमा सरकारको परिक्षा भइरहेको भन्दै सरकारको परिक्षापछि न्यायालयको परिक्षा सुरु हुने बताए । थापाले शरणार्थी प्रकरणमा आइरहेको नामहरु सुन्दा लाज पनि लजाएको अवस्था रहेको धारणा राखे । सलाम गर्ने वा सलामी लिने जो कोहि व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै उहाले न्यायको अनुभूति हुने गरि फैसला हुनुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका छन् । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत छानबिन गर्नुपर्ने उनको माग छ ।
छलफलमा भाग लिदै एमाले सांसद गोकर्ण बिष्टले ४६ सालपछि बिभिन्न ओहोदामा पुगेका व्यक्तिहरुको सम्पती छानविन गर्नुपर्ने र कर नतिरेका सम्पतीहरु जफत गर्नुपर्ने बताए ।
उनले सरकारको नीति तथा कार्यक्रम यथार्थपरक नरहेको भन्दै जनताको भावना समेटिने गरि परिस्कृत गर्नुपर्ने सुझाव दिए ।
क्याटेगोरी : देश
प्रतिक्रिया