चुडामणि शर्मा र दुई पदाधिकारी दोषी ठहर
काठमाण्डौ । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन सहसचिव चुडामणि शर्मा र दुई पदाधिकारीविरुद्धको भ्रष्टाचार मुद्दामा सबैलाई दोषी ठहर गरेको छ । शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल दोषि ठहरिएका हुन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज गरेको फैसलामा आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिँदा भ्रष्टाचार गरेको ठहर्याएको छ । गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा भने चुडामणी शर्माले सफाइ पाएका छन् ।
सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । उनीहरुको सजाय भने निर्धारण भएको छैन । उनीहरुको सजाय निर्धारणका लागि २५ गते पेशी तोकिएको छ । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था भएकाले २५ गतेका लागि छुट्टै पेशी तोकिएको हो ।
यस आधारमा उनीहरुलाई कम्तीमा ३ वर्ष कैद सजाय हुनेछ । २०७१ सालमा तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले कर फस्यौंट आयोग गठन गरेका थिए । चाटर्ड एकाउन्टेन्ड लुम्बध्वज महतको संयोजकत्वमा गठित आयोगमा उमेश ढकाल सदस्य थिए । आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणी शर्मा आयोगको सदस्य सचिव थिए । कर फस्यौंट आयोगका पदाधिकारीहरुले ३० अर्ब ५२ करोड रुपैंया कर विवाद फस्यौंट गरी ९ अर्ब ५४ करोड रुपैंया मात्रै असुल गर्ने निर्णय गरेका हुन् । आयोगको उक्त विवादास्पद निर्णयका कारण राज्यकोषमा करिव २१ अर्ब रुपैंया नोक्सान भएको थियो ।
क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो
प्रतिक्रिया