कर्मचारीको धन्दा,घुस उठाउन श्रीमती,लुकाउन पनि श्रीमती नासुको १६ करोड-हाकिमको ३३ लाखले हलचल
ललितपुर । एउटा सामान्य नायब सुब्बाले सरकारी जागिर खाएर कति सम्पत्ति जोड्न सक्ला ? १ करोड, २ करोड कि ५ करोड ? तर भक्तपुर मालपोतमा कार्यरत एक नायब सुब्बाको सम्पत्ति विवरण सुन्नुभयो भने तपाईं जिब्रो टोक्न बाध्य हुनुनेछ । सरकारी सेवामा प्रवेश गरेको २६ वर्षमा उनले जोडेको सम्पत्ति १५ करोड ९८ लाख रुपैयाँभन्दा बढी ! तर वैधानिक आम्दानी भने जम्मा ६ करोड २५ लाख रुपैयाँ ! बाँकी झन्डै १० करोड रुपैयाँ कहाँबाट आयो ? यही प्रश्नको जवाफ खोज्दै अख्तियारले नासु यदुनाथ आचार्यको सम्पत्ति छानबिन ग¥यो ।
अनुसन्धानपछि उनी मात्रै होइन, श्रीमती, दुई छोरी र अन्य दुई जनासमेत गरी ६ जनाविरुद्ध यतिबेला भ्रष्टाचार मुद्दा दायर भएको छ । २०५४ साल माघ २ गते खोटाङको जिल्ला विकास समितिमा गाविस सचिवका रूपमा सरकारी सेवा सुरु गरेका यदुनाथ अहिले भक्तपुर मालपोत कार्यालयमा कार्यरत थिए । सरकारी सेवाको सुरुवात सामान्य पदबाट गरे पनि उनको सम्पत्ति भने असामान्य देखिएको अख्तियारको अनुसन्धानले औँल्याएको छ । अख्तियारका अनुसार २०८० मंसिर २१ गतेसम्म उनको वैधानिक आम्दानी ६ करोड २५ लाख ६३ हजार रुपैयाँ थियो । तर खर्च तथा लगानी भने १५ करोड ९८ लाख ३५ हजार रुपैयाँभन्दा बढी भेटियो । अर्थात् आम्दानीभन्दा ९ करोड ७२ लाख ७१ हजार रुपैयाँ बढीको स्रोत खुल्न सकेन ।
अझ अनुसन्धानमा खुलेका विवरण झनै रोचक छन् । काठमाडौं, भक्तपुर र मोरङमा घरजग्गा कारोबार, सेयर लगानी, ऋण सापटीदेखि व्यापारिक प्रतिष्ठानसम्म उनको लगानी भेटिएको अख्तियारको दाबी छ । भक्तपुरको हलेसी डिपार्टमेन्ट स्टोरमा मात्रै ४५ लाख रुपैयाँ लगानी ! त्यहाँ आफ्नै श्रीमती ललिता राजभण्डारीलाई व्यवस्थापक बनाइएको विवरण पनि अनुसन्धानमा खुलेको छ । जग्गा व्यवसायीलाई करोडौँ लगानी, विभिन्न व्यक्तिलाई ऋण सापटी र ब्रोकरको खाता प्रयोग गरेर सेयर कारोबारसमेत गरेको अख्तियारको दाबी छ । अर्थात् सरकारी जागिरको तलब एउटा बाटोमा थियो भने सम्पत्ति जोड्ने कारोबारका अनेक बाटो प्रयोग गरिएको थियो । अझ यो प्रकरणमा रोचक त के छ चने नासु यदुनाथ मात्रै होइन, उनको परिवारसमेत कानुनी कठघरामा पुगेको छ । अख्तियारले यदुनाथ, उनकी श्रीमती, दुई छोरी र अन्य दुई जनासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आचार्यकी पत्नी ललिता राजभण्डारीलाई गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरण दुवै कसुरमा मतियार रहेको आरोप लगाइएको छ। उनीविरुद्ध पनि आचार्य सरह बिगो कायम गरी सजाय तथा सम्पत्ति जफतको माग गरिएको छ ।
त्यस्तै, भक्तपुरकी प्रभा बस्नेत र काठमाडौंकी कुमारी कटुवाललाई समेत दुवै कसुरमा मतियार रहेको आरोप लगाइएको छ । उनीहरूका हकमा ३८ लाख ८६ हजार १८२ रुपैयाँ आठ पैसा बिगो कायम गरी सजाय तथा रकम असुलउपरको माग गरिएको छ । आचार्यका छोरीहरू निरु आचार्य र सरु आचार्यलाई भने गैरकानुनी रूपमा आर्जित सम्पत्ति उनीहरूको नाममा रहेको हुन सक्ने आधारमा सम्पत्ति जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको आयोगले जनाएको छ । नासु यदुनाथमाथि ९ करोड ७२ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको र ९ करोड १९ लाख रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ । अख्तियारले कैद, जरिवाना र अवैध सम्पत्ति जफतको मागसमेत गरेको छ ।
नासु यदुनाथको भष्टाचार काण्डलाई समेत मात खुवाउने र घुस उठाउन श्रीमती र भाईलाई खटाउने अर्काे एक भष्टचारी कर्मचरीको चर्चा गरौ । भ्रष्टाचार कसरी हुन्छ ? भन्ने गतिलो उदाहरण दिन धेरै टाढा जानु पर्दैन ! भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले घुस खानको लागि जुन ‘मास्टरप्लान’ रचेका थिए, त्यसले अख्तियारका अधिकारीहरूको समेत यतिबेला होश उडाएको छ । ठेकेदारलाई ठेक्का रकम भुक्तानी दिएबापत मोटो कमिसन असुल्न उनले आफैँ हात फोहोर नगरी आफ्नै भाइ र श्रीमतीलाई ‘कलेक्टर’को रूपमा मैदानमा उतारेका थिए ! तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्सनले उनीहरूको यो धन्दा केही सेकेन्डमै धुलोपिठारो बनाइदिएको छ ।
सोमबार अपराह्न भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट बाहिरिएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा विद्युतीय कार । बाहिरबाट हेर्दा सामान्य गाडी । तर त्यही गाडीभित्र भेटियो ३३ लाख रुपैयाँ नगद । अख्तियारको टोलीले मध्यपुर थिमि नगरपालिका–स्थित निकोसेराको अजिमा पेट्रोल पम्प नजिकै गाडी रोकेर जाँच गर्दा ठूलो परिमाणमा रकम फेला पारेको थियो । गाडीमा चालकसँगै प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेका भाइ नाता पर्ने भनिएका भुवन ढुङ्गेल र उनकी श्रीमतीसमेत सवार थिए । रकमको स्रोत र प्रयोजनबारे अनुसन्धान गर्ने क्रममा अख्तियारको टोली नगरपालिकाको कार्यालयमै पुग्यो र घिमिरेलाई नियन्त्रणमा लियो ।
अझ यो प्रकरणको पेचिलो पक्ष भनेकै रकम ओसारपसारमा आफन्तको संलग्नताको आशंका हो । ठेकेदारलाई भुक्तानी दिने क्रममा कमिसन मागिएको सूचनापछि अख्तियारले निगरानी बढाएको थियो । अख्तियारको प्रारम्भिक दाबीअनुसार बरामद ३३ लाख रुपैयाँ घुसबापतको रकम हो र त्यसको व्यवस्थापनका लागि नातेदारलाई जिम्मा लगाइएको आशंका गरिएको छ ।
अर्थात्, सरकारी भुक्तानीको फाइल एउटा टेबलमा, कमिसनको रकम अर्को बाटोमा र रकम व्यवस्थापनमा आफन्तको प्रयोग भएको हो कि भन्ने प्रश्न अब अनुसन्धानको केन्द्रमा छ । अख्तियारले रकम बरामद गरी मुचुल्का तयार पार्ने, घटनासँग सम्बन्धित प्रमाण संकलन गर्ने र संलग्न व्यक्तिहरूसँग सोधपुछ गर्ने काम अघि बढाएको छ । यता प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने आफूले घुस लिएको आरोप अस्वीकार गरेका छन् । अब प्रश्न उठेको छ—ठेकेदारलाई भुक्तानी दिन ३३ लाख रुपैयाँ कमिसन मागिएको थियो ? रकम कसका लागि र कुन प्रयोजनले ओसारिँदै थियो ? आफन्तहरू केवल गाडीमा सवार थिए कि रकम व्यवस्थापनमै संलग्न थिए ? र सरकारी कार्यालयभित्र कमिसनको यस्तो सञ्जाल कति फैलिएको छ ?
हो,जनताको करबाट बनेको बजेट, विकासका लागि छुट्याइएको रकम र ठेकेदारलाई दिनुपर्ने भुक्तानीमा समेत कमिसनको खेल हुन्छ भने विकास कसरी हुन्छ ? सरकारी कुर्सीमा बसेर जनताको काम सहज बनाउने जिम्मेवारी पाएकाहरू नै आर्थिक अनियमितताको आरोपमा मुछिनु राज्य संयन्त्रमाथिकै गम्भीर प्रश्न हो । अब अख्तियारको अनुसन्धानले ३३ लाखको रहस्य मात्रै खोल्छ कि यसको पछाडिको पूरा सञ्जालसमेत बाहिर ल्याउँछ ? सबैको चासो यही छ । अब अर्काे प्रश्न एउटा नायब सुब्बाको मात्रै यो सामराज्य होइन, सरकारी अड्डाभित्र मौलाएको सम्पत्ति आर्जनको सम्भावित खेलको हो । सामान्य सरकारी तलबबाट करोडौँको सम्पत्ति कसरी जोडियो ? घरजग्गा, सेयर र व्यापारका नाममा कति रकमको कारोबार भयो ? परिवारका सदस्य र अन्य व्यक्तिको नाममा सम्पत्ति राखिएको हो कि होइन
क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, प्रमुख समाचार








प्रतिक्रिया