Techie IT
  • १६ जेठ २०८३, शनिबार
  • काठमाडौं
Khoj Mission News

‘ललितपुरको पत्रकारिता इतिहास’ पुस्तक विमोचन, सात पत्रकार सम्मानित


ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘ललितपुरको पत्रकारिता इतिहास’ पुस्तक शनिबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ।

शाखाको २५औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुस्तकको विमोचन गरेका हुन्। उनले पुस्तकलाई ललितपुरको पत्रकारिता क्षेत्रको महत्वपूर्ण दस्तावेजको रूपमा उल्लेख गर्दै यसको प्रकाशनका लागि शाखालाई धन्यवाद दिए। लोकतान्त्रिक व्यवस्थामा पत्रकारले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै नागरिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए।

सोही अवसरमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सात जना पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरिएको थियो। राजधानी दैनिकका डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवालीलाई हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

त्यसैगरी नयाँसडक दैनिकका ज्ञानप्रसाद पौडेललाई धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार तथा नेपालखबरका जनार्दन पोखरेललाई राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

दियोपोष्टकी रीता बुढाथोकीलाई क्यान्सर रोगसम्बन्धी सचेतनामूलक पत्रकारितामा योगदान पुर्‍याएको भन्दै सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। नेपाल टेलिभिजनका ईश्वर महर्जन र मिडियासञ्चारडटकमका केदारनाथ दाहाललाई ललितपुरका विषयवस्तु उजागर गर्न योगदान पुर्‍याएको भन्दै ललितपुर पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले शाखाले पछिल्लो डेढ वर्षमा पत्रकारहरूको वृत्ति विकासका लागि विभिन्न तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उनले आगामी वर्षदेखि ललितपुरको पत्रकारितासम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले एक जना महिला र एक जना पुरुष पत्रकारलाई शोधपत्र लेखनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा पनि गरे।

साधारण सभाको बन्द सत्रमा सचिव दीपक अर्यालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको शाखाले जनाएको छ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode