Techie IT
  • ९ फागुन २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

भक्तपुर–२ मा जन्मदेव जैसीको सक्रियता: घरदैलोमार्फत जनमत बुझ्ने प्रयास


भक्तपुर ९ फागुन। प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जन्मदेव जैसीले ‘जनतासँग जन्मदेव’ अभियान जारी छ। गरेका छन् । भक्तपुर २ नं. क्षेत्रको निर्वाचन परिचालन कमिटीमार्फत गत फागुन ४ गतेदेखि सुरु गरिएको उक्त अभियान सानोठिमीबाट औपचारिक रूपमा प्रारम्भ गरिएको थियो ।

भक्तपुरको बोडे, मगरगाउँ, गठाघर, कोशलटारका जनताले अभियानलाई उत्साहपूर्ण साथ दिएको जैसीले बताए। अभियानलाई अन्तर्गत घरदैलो, भेटघाट तथा प्रत्यक्ष संवादमार्फत मतदातासँग जोडिने कार्यक्रमका रुपमा अघि बढाइएको छ। अभियानको मूख्य उद्देश्य मतदातासँग प्रत्यक्ष संवाद स्थापित गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझाव बुझ्नु रहेको बताइएको छ। स्थानीय तहका बस्ती–बस्तीमा पुगेर जनताको जीवनस्तर, रोजगारी, विकास र सेवासम्बन्धी मुद्दा बुझ्ने र त्यसलाई आफ्नो राजनीतिक एजेन्डासँग जोड्ने योजना रहेको जैसीको भनाइ छ ।

घरदैलो अभियानका क्रममा पुराना राजनीतिक दलप्रति मतदातामा निराशा बढ्दै गएको अनुभव आफूले गरेको जैसीले दाबी गरे। कांग्रेस, एमाले, नेकपा लगायतका स्थापित दलहरूबाट जनता वाक्कदिक्क भइसकेको प्रतिक्रिया पाएको उनले बताए। “जनतामा परिवर्तनको चाहना स्पष्ट देखिन्छ, उनीहरू नयाँ विकल्पको खोजीमा छन्, तर नयाँ बैकल्पिक शक्ति छान्ने क्रममा प्रलोपालाइ जनताले बुझ्न थालेका छन्” जैसीले भने। जनताको प्रलोपाप्रति उत्साह राम्रो देखिन थालेपछि जैसीले आफु उत्साहित भएको बताए । भक्तपुर–२ का मतदाताहरू नयाँ राजनीतिक शक्तिप्रति आकर्षित देखिएको बताएका छन्। यद्यपि नयाँ नाममा आएका सबै दलप्रति मतदाता सचेत रहेको र उनीहरूले विकल्पबारे अध्ययन गरिरहेको उनको भनाइ थियो। आफूहरू पनि नयाँ राजनीतिक धार बोकेको दल भएकाले सम्मानजनक मत प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे।

अभियानका क्रममा हालसम्म यस क्षेत्रमा सैद्धान्तिक राजनीति कमजोर रहेको जनताले टिप्पणी गरेको भन्दै जैसीले चुनाव केवल साना–साना विकास निर्माणका आश्वासनमा सीमित भएको आरोप लगाए। “नीति र विचार स्पष्ट भए विकास आफैं मार्गनिर्देशित हुन्छ, तर यहाँ नीतिभन्दा प्रचार बढी भएको जनताको बुझाइ छ,” उनले भने। ठूला दलका उम्मेदवारहरूले दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्न नसकेको आरोपसमेत उनले लगाए। मध्यपुर थिमी नगरपालिका–नीलबाराहीमा लामो समयदेखि बसोबास गर्दै आएको उल्लेख गर्दै उनले स्थानीय समस्या, आवश्यकता र जनजीवनसँग आफू नजिकबाट परिचित रहेको दाबी गरे। “म यहाँको जनतासँगै बाँचिरहेको मान्छे हुँ, बाहिरबाट चुनावका लागि मात्र आएको होइन,” उनले भने। दशकभन्दा बढी समयदेखि भक्तपुर–२ मा बसोबास गर्दै आएकाले मतदातासँगको सम्बन्ध बलियो रहेको र हालको घरदैलो अभियानले आफ्नो पक्षमा सकारात्मक माहोल निर्माण भएको उनले बताएका छन्।

भक्तपुर–२ निर्वाचन क्षेत्र राजनीतिक रूपमा प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा चिनिन्छ। यस क्षेत्रमा नेकपा एमालेका महेश बस्नेत, नेपाली कांग्रेसका कविर राणा, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य, राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री, नेकपाका रामप्रसाद सापकोटा ‘दीपशिखा’, राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा, उज्यालो नेपाल पार्टीका जीतमान लामा लगायतका उम्मेदवार चुनावी मैदानमा छन्। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल ३२ जना प्रतिस्पर्धामा रहेका छन्।

इतिहास हेर्दा यस क्षेत्रमा नेपाली कांग्रेसले २०४८, २०५६, २०७० र २०७९ मा जित हासिल गरेको छ भने नेपाल मजदुर किसान पार्टीले २०५१ र २०६४ मा विजय निकालेको थियो। नेकपा एमालेले २०७४ मा एकपटक जितेको थियो। भौगोलिक रूपमा यस क्षेत्रमा मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका पर्छन्। कुल १९ वटा वडा रहेको यस क्षेत्रमा करिब ९८ हजार ३५६ मतदाता रहेका छन्। नयाँ राजनीतिक विकल्पको खोजीमा रहेका मतदातामाझ ‘जनतासँग जन्मदेव’ अभियानले कस्तो प्रभाव पार्छ भन्ने विषयमा भक्तपुरका जनताले चासोपूर्वक हेरेका छन् । उम्मेदवार जैसीले प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै आफ्नो राजनीतिक एजेन्डा स्थापित गर्ने प्रयास गरिरहेका छन् भने मतदाताहरूले पनि नयाँ विकल्पको परीक्षण गर्ने मनस्थितिमा देखिएका छन्।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode