कैलाली–५ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउदै नेता आले
कैलाली । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नं. ५ मा चुनावी माहौल निकै तातेको छ । यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेमबहादुर आलेले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउनु भएको छ ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहनु भएका नेता आलेले घरदैलो कार्यक्रममार्फत स्थानीयवासीका गुनासा, समस्या र सुझावहरू संकलन गर्दै विकासका एजेन्डासहित मत मागि रहनु भएको छ ।
आइतबार घरदैलो कार्यक्रम अन्तरगत उहाँले टोल–टोलमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्नु भएको छ । उहाँले आफू विगतमा काम गरेर देखाइसकेको नेता भएको उल्लेख गर्दै जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, “जनताको घरदैलोमै पुगेर समस्या सुन्नु नै मेरो पहिलो दायित्व हो । चुनाव जित्नु मात्र लक्ष्य होइन, जनविश्वास कायम राख्नु ठूलो जिम्मेवारी हो । मैले जनतासँग गरेका वाचा पूरा गर्ने छु ।”
यसैगरी उहाँले धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नति, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबिबिएस पढाई सञ्चालन, खुटिया–बिपीनगर–दिपायल–बझाङ हुँदै उरै ताक्लाकोट जोड्ने सडक निर्माण, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र शिक्षाको विकासलाई आफ्नो मुख्य एजेन्डा बताउनु भएको छ ।
नेता आलेले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनलाई आफ्नो प्राथमिकतामा राख्नु भएको छ । उहाँले लामो समयदेखि भोग चलन गर्दै आएको आफ्नो जमिनको लालपूर्जा नपाएका कैलाली–५ का जनतालाई लालपूर्जाका लागि आवश्यक पहल गर्ने बताउनु भएको छ ।
घरदैलो कार्यक्रमअन्तर्गत टोल–टोलमा पुगेर जनताको अवस्था बुझ्दै आउनु भएका नेता आलेले स्थानीयवासीले उठाएका जग्गाधनी प्रमाण पुर्जा, खानेपानी, सडक स्तरोन्नति, ढल निकास, स्वास्थ्य सेवा र रोजगारीका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले जनप्रतिनिधि जनताकै घरमा पुगेर समस्या सुन्नु नै लोकतान्त्रिक अभ्यासको सबल पक्ष भएको उल्लेख गर्नुभयो ।
स्थानीयवासीले गेटा विमानस्थल आसपासका जनताले लालपुर्जा नपाएको, सडकको जिर्ण अवस्था रहेको, बाढीको समयमा हुने जलमग्न समस्या तथा युवाहरूका लागि रोजगारीका अवसर अभावबारे गुनासा राखेका थिए । त्यसका साथै टोलमा स्वास्थ्य चौकीको स्तरवृद्धि, सामुदायिक भवन निर्माण र व्यवस्थित बजार पूर्वाधार निर्माणको मागसमेत गरिएको थियो ।
नेता आलेले ती सबै मागलाई योजनाबद्ध रूपमा सम्बोधन गर्ने आश्वासन दिँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर विकासका कामलाई तीव्रता दिने बताउनुभयो ।
उहाले भन्नुभयो, “जनताको घरदैलोमै पुगेर समस्या सुन्नु र समाधानको मार्ग पहिल्याउनु नै मेरो पहिलो दायित्व हो । चुनाव जित्नु मात्र लक्ष्य होइन, जनविश्वास कायम राख्नु ठूलो जिम्मेवारी हो । यहाँका जनताको समस्याको समाधान गर्न म कुनै कसर बाकी राख्ने छैन । समस्याको समाधान मैले गर्छु ।”
नेता आलेले गेटा विमानस्थल क्षेत्रलाई आर्थिक तथा पर्यटन विकासको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे पनि चर्चा गर्नुभयो ।
क्याटेगोरी : प्रमुख समाचार








प्रतिक्रिया