थपिए दुई मन्त्री, नजिकबाट चिन्नुहोस् सुधा र बब्लुलाई
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी डा. सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बब्लु गुप्तालाई दिइएको छ । आइतबार शितल निवासमा राष्ट्रपति पौडेलले पद तथा गोपनियताको सपथ गराएलगत्तै दुई मन्त्रीले मन्त्रालय पुगर पदभार ग्रहण गरेका छन् । पहिलो निर्णयका रूपमा मन्त्री शर्माले आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् । उनले कुनै पनि स्तरमा कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न निर्देशन दिएकी छिन् ।

सुधाले २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत सचिवको कार्यभार सम्हालेकी थिइन् । तत्कालीन स्वास्थ्यमन्त्रीहरू प्रदीप पौडेल, गगन थापाको सल्लाहकारमा समेत शर्मा रहेकी थिइन् । डा. सुधा २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल भएकी थिइन् । उनी नेपाल चिकित्सक संघको एक मात्र महिला अध्यक्ष हुन् ।
पदभार ग्रहण गर्दै युवा तथा खेलकुद मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा मन्त्रालयमा हुने बैठक वाछलफल प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका छन् । अरु विषयम बोल्न नचाहेका गुप्ताले अब काम गरेर देखाउने बताए ।

भदौ २३ र २४ को जेनजी आन्दोलनको अग्रपंक्तिमा रहनेमध्येका थिए, बब्लु गुप्ता । परोपकारी समूह हन्ड्रेड ग्रुपसँग आबद्ध उनले घाइतेलाई अस्पतालसम्म लैजाने काममा समेत सहजीकरण गरेका थिए । तीनै बब्लु आइतबारबाट जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका हुन् । जेनजी आन्दोलनको बलमा बनेको सरकारमा खास जेनजी उमेर समूहका व्यक्ति चाहिँ मन्त्री नबनेको भन्दै आलोचना भइरहेका बेला गुप्ताको प्रवेशले अब त्यो आलोचनालाई मत्थर गर्नेछ । किनकी गुप्ता जेनजी उमेर समुहका मन्त्री हुन् ।
कोभिडअघि नै बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई सहयोग गर्न ‘कपडा बैंक’ अभियान चलाएका थिए । पछि उनले ‘किताब बैंक’ को अवधारणा पनि ल्याए, जहाँ नयाँ किताब किन्न नसक्ने विद्यार्थीलाई पुरानो किताब दिएर सहयोग गर्न सकियोस् भन्ने उद्देश्य राखिएको थियो । तर यसले भने निरन्तरता पाउन सकेन । गुप्ताको समूह अहिले ‘प्रोजेक्ट शिक्षा’ नामक नयाँ अभियानमा जोडिएको छ। यस मार्फत हन्ड्रेड ग्रुपले गरिब तथा विपन्न वर्गका ११० जना विद्यार्थी छानेर काठमाडौंमा खान, बस्न सुविधा सहित पढाइरहेको छ ।
क्याटेगोरी : देश










प्रतिक्रिया