शान्तिबाटीकाबाट वालुवाटार पुगे राजावादी, प्रचण्डलाई लिङ्देनको यस्तो छ जवाफ

काठमाडौ । राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले शनिबार पनि आन्दोलन जारी राखेका छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार, आज राजावादीहरूले नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने तालिका थियो ।
तर, शुक्रबार साँझ नै सो ठाउँमा सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि राजावादीहरु शान्तिबाटीकामा भेला भएर प्रदर्शन गरेका हुन् । शान्तिबाटीकाबाट सुरु भएको शनिबारको आन्दोलन नक्साल हुँदै बालुवाटार पुगेको छ ।
प्रदर्शनमा राप्रपा, राप्रपा नेपाल लगायतका दलका नेता कार्यकर्ता पनि सहभागी छन् । आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश’, लगायतका विभिन्न प्लेकार्डसहितका नारा लगाएका छन् ।
बालुवाटारलाई यसअघि नै सरकारले संवेदनशील क्षेत्रको रुपमा लिँदै निषेधित क्षेत्र घोषणा गरिसकेको छ । निषेधित क्षेत्र तोड्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले आज नुवाकोट पुगेर राजावादीहरूले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको टिप्पणी गरेका थिए । त्यसको जवाफमा लिङदेनले आन्दोलनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो अनुभव सुनाएको बताए ।
उनले भने, ‘प्रचण्डजी राम्रो भए पनि नभए पनि उहाँ गणतन्त्रको संस्थापक हो । उहाँको नेतृत्वमा नेपालमा गणतन्त्रको मुद्दा उठेको हो । त्यसैले गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पिर उहाँलाई पर्नु स्वाभाविक हो । त्यसैले पिर परेको बेलामा केके बर्बराउनुहुन्छ, त्यसलाई अन्यथा मान्दिनँ । उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न टाढा–टाढाबाट मान्छेहरू बोलेर ल्याउनुभएको थियो । पार्टी प्यालेसमा कुन प्रकारको भोज गर्नुभएको थियो । उहाँहरूलाई थाहा छ– खुवाएर पैसा वितरण गरेर मान्छे ल्याउने र जुलुस गर्ने कुरा उहाँले आफ्नो अनुभव सुनाउनुभएको होला ।
लिङदेनले जनताको मद्दत यसैगरी पुग्यो भने सरकारलाई झुकाइछाड्ने बताए । अहिले जनसमर्थन नपुगे पनि आफूहरू निरन्तर लागिराख्ने उनले बताए ।
क्याटेगोरी : देश
प्रतिक्रिया