Techie IT
  • ३ मंसीर २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

एनपीएलमा सहभागि ८ टिम : गत वर्षको अवस्था र अहिले


नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आइतबारदेखि सुरु भएको छ । नेपालकै सर्वाधिक चर्चित र सफल फ्रेन्चाइज लिगमा ८ वटा टिम सहभागि भएका छन् । सहभागि टिमहरु सबै उपाधि जित्न सक्षम देखिन्छन् । कुन टिम कस्तो छ त ?

जनकपुर बोल्ट्स
पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले प्रशिक्षकमा ठूलो लगानी गरेको छ । अहिलेसम्म एपिएलमा आएका खेलाडि तथा प्रशिक्षकमध्ये कै सर्वाधिक ठूलो नाम शिवनारायण चन्द्रपाउल (वेष्ट इण्डिज) लाई भित्र्याएको छ । जनकपुरको टिममा पहिलो सिजनमा उपाधि जित्दा खेलेको टिमबाट ९ खेलाडी दोस्रो सिजन पनि टिममै छन् । जनकपुरमा स्वदेशी खेलाडिमा आसिफ शेख, कप्तान अनिल कुमार शाहसहित ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुल बहादुर थापा रहेका छन् । विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिर, श्रीलंकाका लाहिरु समारकून र संगीथ कूरे, अमेरिकाका लाहिरु मिलान्था र सञ्जय कृष्णमुर्ती तथा नामिबियाका जान निकोल लफ्टी इटन अनुबन्ध गरेको छ । जनकपुरको स्वदेशी र विदेशी दुवै कोटाको खेलाडि क्षमतावान देखिन्छन् ।

सुदूरपश्चिम रोयल्स
पहिलो संस्करणको फाइनल पुगेर उपािध जित्नबाट चुकेको सुदूरपश्चिम यसपटक विजेता बन्ने लक्ष्यसहित प्रतियोगितामा उपस्थित हुनेछ । नेपाली घरेलु क्रिकेटका सफल प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा सुदूरपश्चिमले उपाधि जित्ने योग्यता राख्दछ । राष्ट्रिय टिमका सर्वाधिक सफल अलराउण्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, इशान पाण्डे जस्ता खेलाडी छन् । विदेशी खेलाडीमा स्कट कुगेलेइन, हर्मित सिंह, अस्ट्रेलियन ब्याटर क्रिस लिन र जोस ब्राउन जस्ता खेलाडी अनुबन्ध गरेको छ । ६ जना विदेशी खेलाडि राख्न पाउने भए पनि सुदूरले चार विदेशी खेलाडी मात्र अनुबन्ध गरेको छ ।

कर्णाली याक्स
पहिलो सिजनमा कर्णाली याक्सले भारतका सफल ब्याटर शिखर धवन ल्याएर चर्चा कमाएको थियो । उपाधि नै जित्ने चर्चा भए पनि कर्णालीले पहिलो सिजन लिग चरणमा ७ मध्ये ४ खेल जितेको थियो । प्लेअफसम्म पुगेको कर्णालीले नेपाली राष्ट्रिय टिमकै सबैभन्दा अनुभवी खेलाडी सोमपाल कामीको कप्तानीमा खेल्नेछ । मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नै निरन्तरता दिएको छ । कर्णालीले सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, विपिन शर्मा, दीपेन्द्र रावत, युनिश विक्रम ठकुरीलाई रिटेन गरेको थियो । यस्तै कर्णालीले अक्सनबाट अलराउण्डर पवन सर्राफ, स्पीनर युवराज खत्री, दिपक डुम्रे र इमरान शेखलाई अनुबन्ध गरेको छ । विदेशी खेलाडिमा विलियम बोसिस्टो, मार्क वाट, म्याक्स ओ’डाउड, नजिबुल्लाह जाद्रान, प्रियांक पान्चाल रहेका छन् ।

चितवन राइनोज
पहिलो सिजनमा अपेक्षाकृत नतिजा निकाल्न नसकेको चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रिनेछ । अन्य खेलाडिमा कमल सिंह ऐरी, रिजन ढकाल, दीपक बोहरा, अमर सिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, विपिन आचार्य, रन्जित कुमार, विपिन रावल, रवि बोपारा, सोहेल तनभिर, डाविड मलान, सेफ अली जैब, अल्पेश रमजानी रहेका छन् । विदेशी खेलाडी रवि बोपारा र सोहल तनभिरलाई दोस्रो सिजन पनि निरन्तरता दिएको छ । यस्तै इंग्ल्याण्डका विश्वकप खेलिसकेका खेलाडी डाविड मलान र पहिलो सिजन सुदुरपश्चिम रोएल्सबाट खेल्दै उत्कृष्ट खेलाडी बनेका सैफ अली जैबलाई अनुबन्ध गरेपछि चितवनको विदेशी लाइनअप बलियो देखिएको छ । चितवनले युगान्डाका अलराउण्डर अल्पेश रम्जानीलाई पनि अनुबन्ध गरेको छ । चितवनले कलाम अलीलाई प्रशिक्षकको रुपमा निरन्तरता दिएको छ । पहिलो संस्करणमा प्लेअफसम्म पुगेको चितवन चौँथो स्थानमा सीमित भएको थियो ।

काठमान्डु गोर्खाज
मार्की खेलाडी तथा कप्तान करण केसीसहित ६ खेलाडी रिटेन गरेको काठमान्डौले मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारीसहित ५ खेलाडी अनुबन्ध गरेको थियो । भिम शार्की, शाहब आलम, दिपेश कँडेल, रासिद खान, प्रतिक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा लगायतका स्वदेशी खेलाडिले काठमाडौलाई उपाधि जिताउने क्षमता राख्दछन् । पहिलो सिजन खेलेका नामिबियाका कप्तान जेरार्ड एरासमससहित ६ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । इंग्लिस विकेटकिपर जोन सिम्पसन र दक्षिण अफ्रिकी विकेटकिपर ब्याटर रिकार्डो भासक्नसेलोसलाई अनुबन्ध गरेको छ । बेन चाल्र्सवर्थ, मिलिन्द कुमार र भारतीय सन्नी पटेल पनि काठमाडौका भरपर्दा खेलाडि हुन् । गोर्खाजले नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक भारतका मोन्टी देसाइलाई अनुबन्ध गर्दै कोचिङ स्टाफ पनि बलियो बनाएको छ । पहिलो संस्करणमा पाँचौ स्थानमा सीमित भएको यो टिम प्लेअफमा पुग्न सकेन ।

विराटनगर किङ्स
यसपटक ठूला र सफल खेलाडि अनुबन्धन गर्नेमा विराटनगर अग्रस्थानमा छ । मार्की सन्दिप लामिछाने रहेको टिम विराटनगरले दोस्रो सिजनमा लागि दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसी जस्ता खेलाडीलाई अनुबन्ध गरेर ठूलो चर्चा बटुलेको छ । न्युजिल्याण्डका मार्टिन गप्टिललाई समेत फेरि अनुबन्ध गरेको विराटनगरले दक्षिण अफ्रिकाकबाट फास्ट बलर मर्चेन्ट डे लाङलाई पनि अनुबन्ध गरिसकेको छ भने अस्ट्रेलियाका साम हिजलेट तथा अमेरिकन शुभम रन्जानेलाई पनि अनुबन्ध गरेको छ । स्कटल्यान्डका जर्ज मन्से पनि विराटनगरमा छन् । नेपाली ब्याटरहरूमा विराटनगरमा लोकेश बम, नरेन भट्ट, शंकर राना छन् । विराटनगरले अक्सनबाट शंकर रानालाई अनुबन्ध गरेको छ । यस्तै बसिर अहमद र नारायण जोशी अलराउण्डरको रुपमा छन् । श्रीलङ्काली मूलका क्यानडाली प्रशिक्षक पुबुदु दशानायके यस टिमको प्रशिक्षक छन् । अघिल्लो वर्ष लिग चरणका ७ खेलमध्ये २ वटा मात्रै जितेर विराटनगरले फ्यानलाई निराश बनाएको थियो ।

पोखरा एभेन्जर्स
पहिलो संस्करणमा फितलो प्रदर्शन गरेको पोखराले यसपटक केही आशालाग्दा खेलाडि अनुबन्धन गरेर उपाधि कब्जा गर्ने रणनीति बनाएको छ । पोखरामा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की खेलाडी छन् । भुर्तेलसँगै दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, विपिन खची, किरण ठगुन्ना र तृत राज दास पोखरामा रहेका छन् । पोखराले युवा ब्याटर अर्जुन कुमालसहित सन्दिप क्षेत्री कृष्ण पौडेललाई अभिषेक तिवारीलाई अक्सनबाट अनुबन्ध गरेको छ । पोखराले न्युजिल्याण्डका जिम्मी नीशम अनुबन्धपछि पहिलो सिजनभन्दा राम्रो गर्ने अपेक्षा गरिएको छ । पोखराले इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेइट तथा बार्बाडोसका रेमन रेइफरलाई अनुबन्ध गरेको छ । इंग्ल्यान्डका जेसन रोय पनि पोखरामा अनुबन्धित भएका छन् । पोखरा रेन्जर्सले राजीव कुमारलाईं प्रशिक्षक बनाएको छ । पहिलो संस्करणमा सातमध्ये दुई खेल मात्रै जितेको पोखरा अंकतालिकाको पुछारबाट दोस्रोमा रहेको थियो ।

लुम्बिनी लायन्स
नेपाली राष्ट्रिय टिममा कप्तान रोहित पौडेलले नेतृत्व गरेको लुम्बिनी लायन्सले पहिलो सिजनमा सबैलाई निराश बनाएको थियो । यसपटक भने अघिल्लो वर्षको अवस्था नदोहोर्याउने लक्ष्य लिएको लुम्बिनीले धेरै कुरा परिवर्तन गरेको छ । लुम्बिनीले कप्तान रोहितसहित सन्दिप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिषेश गौतम र तिलक राज भण्डारीलाई रिटेन गरेको छ । पहिलो संस्करण खेलेका मिडियम पेसर दुर्गेश गुप्तासहित दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेललाई अक्सनबाट अनुबन्ध गरेको छ । शक्ति गौचनलाई कन्सलट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको लुम्बिनीले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ भने भारतीय प्रशिक्षक टिनु योहान्नानलाई मुख्य प्रशिक्षक बनाएको छ । विदेशी खेलाडीमा अस्ट्रेलियाका ओपनर डार्शी शर्टसहित अफगानिस्तानका स्टार अलराउन्डर गुल्बादिन नाइब, इटालीका बलर थोमस ड्राका, नामिबियाका बलर रुबेन ट्रम्पलमन तथा अलराउन्डर जेजे स्मिथ अनुबन्ध गरेको छ । पहिलो संस्करणमा नमिठो असफलता चाखेको लुम्बिनीले लिग चरणका सात मध्ये १ खेल मात्रै जितेको थियो ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode