टि २० विश्वकप छनोटको तयारीका लागि ३२ जना बोलाइयो, आदिललाई अवसर

काठमाडौं । टि ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोटका लागि ३२ जना क्रिकेटरलाई प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रशिक्षणमा सहभागि खेलाडीको नाम सार्वजनिक गरेको हो । मोहमद आदिल आलम करिब ३ वर्ष पछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका छन् । आदिल केही वर्ष अघि नेपाल टि ट्वान्टी लिगमा फिक्सिङको आरोपमा प्रतिबन्ध परेका थिए । आरोप प्रमाणित नभएपछि प्रतिबन्ध मुक्त भएका आदिल त्यसयता पहिलो पटक प्रारम्भिक टोलीमा परेका हुन् ।
क्यानले बोलाएको प्रारम्भिक क्याम्पमा समावेश ३२ खेलाडीहरूमा रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रूपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, मोहमद आदिल आलम, पवन सर्राफ, शेर मल्ल, शुभ कंसाकार र अर्जुन घर्ती छन् ।
उक्त टोलीबाट छानिएका खेलाडीहरू समावेश भएको अन्तिम टोलीले एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्नेछ। यही छनोट नेपालका लागि २०२६ भारत–श्रीलंकामा संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा पुग्ने अर्को अवसर हुनेछ ।
नेपालले अक्टोबरमा ओमानमा विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोट खेल्दैछ । त्यसअघि अस्ट्रेलिया भ्रमण गर्ने नेपालले वेस्ट इण्डिजसँग ३ खेलको टि ट्वान्टी आई सिरिज पनि खेल्नेछ । छनोटमा ९ राष्ट्रको सहभागीता रहने छ । सहभागी राष्ट्रलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ देशले सुपर सिक्समा स्थान बनाउने छन् ।
सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । नेपाल छनोटको समूह चरणमा कुवेत र जापानको सामना गर्नेछ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउँने लक्ष्यमा छ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया