गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तरपालिका खुल्ला गोदावरी मेयर कप फुटबल प्रतियोगिता सुरु

ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा शनिवारदेखि दोस्रो उपत्यका व्यापी अन्तरपालिका खुल्ला गोदावरी मेयर कप फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ। गत वर्षबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल चिनाउने युवा जनशक्ति उत्पादनका लागि सुरु गरिएको फुटबल प्रतियोगिता गोदावरी नगरपालिका वडा नम्बर- १० टाहाखेल झ्यालुन्टारमा सुरु भएको हो।
नगरपालिकाले निर्माण गरेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको १०५ मिटर लम्बाइ र ५८ मिटर चौडाइमा रहेको मैदानमा फुटबल खेल्न उपत्यकाका १३ वटा टिमको सहभागिता रहेको छ। फुटबल विजेता टिमले नगद ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै उपविजेताले नगद ३ लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै अनुशासित टिमलाई ५० हजार, म्यान अफ द म्याचलाई रु.५०००का साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता प्रशिक्षकलाई २५ हजार नगद पुरस्कारको व्यवस्था छ।
वैशाख २० गतेबाट सुरु भएको प्रतियोगिता जेष्ठ ३ गते समापन हुनेछ।
आज सुरु भएको खेलको उद्घाटन नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखकले गरेका हुन् भने समापन तथा पुरस्कार वितरण नेपाली कांग्रेसका महामन्त्री पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले गर्नेछन्।
प्रतियोगिताको समूह ए को विजेता र समूह सीको विजेताबीच वैशाख ३० गते सेमिफाइनल पहिलो खेल हुनेछ भने समूह बीको विजेता र समूह डीको विजेताबीच वैशाख ३० गते दोस्रो सेमीफाइनल खेल हुनेछ।
सेमिफाइनल पहिलो खेलको विजेता र सेमिफाइनल दोस्रो खेलको विजेता बीचको फाइनल खेल जेठ ३ गते दिउँसो ३ बजे हुनेछ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया