खस्किएको नेपाल हङकङसँग स्तब्ध, इमर्जिङ टिम्स एसिया कपबाट बन्चित
ओमान । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो ।
नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य हङकङले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । हङकङका लागि अन्सुमन राथले नटआउट रहँदै सर्वाधिक ६५ रन बनाए ।
नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीको नाममा २ विकेट रह्यो ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए ।
आज पनि नेपालको ब्याटिङ सम्झनलायक भएन । नेपालले खेलमा खराब सुरुवात गरेको थियो । कुशल भुर्तेल फेरि एक पटक शून्य रनमा आउट भए । तेस्रो ओभरमा सोमपाल कामी १६ रन बनाएर आउट भए । लगत्तै ५ रन बनाएर आशिफ शेख पनि पभेलियन फर्किए । त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले नेपालको इनिङ्स सम्हालने प्रयास गरेका थिए । जोराले २३ बलमा २२ रन बनाए भने कप्तान पौडेलले १९ बलमा २१ रन बनाए । कुशल मल्ल १३ रन बनाएर आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि हिजो युएइसँग पराजित भएर आगामी वर्षको एसियाकप खेल्नबाट बन्चित भएको नेपाल आजको हारपछि इमर्जिङ टिम्स एसिया कपबाट पनि बन्चित भएको छ । हङकङ भने जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको छ ।
इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ । हङकङ सहित फाइनल पुगेका ओमान र युएई सो प्रतियोगितामा छनोट भएका हुन् ।
यसैबीच रोहित पौडेल नेपालबाट टी–२० आईमा सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बनेका छन् । आजको खेलमा उनले कीर्तिमान बनाएका हुन् । २०२३ देखि रोहितले नेपालबाट हालसम्म २८ खेलमा कप्तानी गरेका छन् । उनले पूर्वकप्तान पारस खड्कालाई २७ खेलको कप्तानीलाई पछि पारेका हुन् ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया