झापा गोल्डकप फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेडलाई
बिर्तामोड । झापा गोल्डकप फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । योसँगै युनाइटेड नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको विर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा विभागीय टोली सश्स्त्र प्रहरी बलको एपीएफलाई ३–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाईज प्रतियोगिताको नयाँ च्याम्पियन बनेको हो ।
खेलको १२औं मिनेटमा फकुन्लेले पहिलो गोल गरे । गोलकिपर एन्जल श्रेष्ठ अगाडि बढेको अवस्थामा फकुन्लेले चलाखीपूर्ण रुपमा गोल गर्न सफल भएका हुन् । दोस्रो गोल ७२ औं मिनेटमा फकुन्लेले नै गरे । मध्यभागबाट बल अगाडि बढाउँदै फकुन्लेले गोलकिपर एन्जललाई बिट गरेर सुन्दर गोल गरेका हुन् ।
तेस्रो गोल ८७ औं मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी राजेश परियारले तेस्रो गोल गरे । विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका राजेशले फकुन्लेको सुन्दर पासमा गोल गरेका हुन् । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको विभागीय टोली एपीएफले फाइनलमा भने आशा अनुसारको प्रदर्शन गर्न सकेनन् ।
यसअघि खेलमा एपीएफले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । १८ औं मिनेटमा एपीएफका फोडे फोफानाको पासमा अनिश महर्जन गोल गर्न चुके । पहिलो हाफको इन्जुरी समयमा फोडेकै प्रहार चर्च ब्वाइजका कप्तान दीप कार्कीले पञ्च गरे । खेलको ८१ औं मिनेटमा एपीएफका विदेशी खेलाडी आन्द्रे थेरी वियिक वियिकको फ्रिकिक गोलकिपर दीपले पञ्च गर्दै क्लिन सिट राख्न सफल भए ।
चर्च ब्वाइजले केही अवसर बनाएपछि थप गोल गर्न सकेन । ३१ औं मिनेटमा विकु राईले हानेको प्रहार एपीएफ गोलकिपर एञ्जल श्रेष्ठले बचाए । ७२ औं मिनेटमा विजय भुजेलले गोलकिपर एञ्जल बिट गरेको अवस्थामा पनि गोल गर्न चुकेका थिए ।
खेलको म्यान अफ द म्याच बिजेता टिम चर्च ब्वाइजका सुरजज्यू ठकुरी भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । चर्च ब्वाइजले उपाधि सहित १३ लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपीएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझाउन बाध्य भयो ।
विधागत पुरस्कारमा पनि चर्च ब्वाइजको बर्चस्व रह्यो । चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको पुरस्कार अवयोमी फकुन्लेले पाए ।
एपीएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर भए । यस्तै, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका अध्यक्ष रुवेन राई भए । उदयमान खेलाडी झापा ११ का कप्तान पेमा तामाङ भए । उनीहरुले जनही नगद २५ हजार पुरस्कार पाए । गोल्डकपको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर सञ्जित राई भए । उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे ।
विजेता तथा उपविजेता टिम र खेलाडीलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।
फागुन १९ गतेदेखि सुरु भएको छैटौं झापा गोल्डकपमा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको थियो ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया