नामिबियाविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल पुग्ने सम्भावना कायमै
काठमाण्डौ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा नेपाल विजयी भएको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो ।
जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै एक विकेट लनुका साथै ८ रन मात्र दिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे । ७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।
सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भए । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए । नेपाल यसअघि भएका दुवै खेलमा पराजित भएको छ । पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्डसँग २ रनले पराजित भएको थियो ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया