क्रिकेट : नेपालको ए टिमविरुद्ध क्यानडा सफल, सिरिज कब्जा
काठमाण्डौ । क्यानडा–११ ले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ । तेस्रो खेलमा ४ विकेटको जितका साथ क्यानडा–११ ले सिरिज आफ्नो पक्षमा पारेको हो । मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३९ औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक बनाए । किर्तनले ७९ बलमा ६ चौकासहित ५८ रनको योगदान दिए ।
क्यानडाका लागि ओपनर आरोन जोन्सनले ३१ बलमा २ चौका र ४ छक्कासहित ४२ रन जोडे । त्यसपछि दिलप्रित बज्वा ११ रन र हर्ष ठाकर २ रनमा आउट हुँदा क्यानडा केहि समस्यामा परेको थियो । तर अर्को एण्डमा निकलस किर्तनले इनिङ सम्हाले । निखिल दत्त ३५ बलमा १४ रन जोड्दै आउट भए । नवनित धलिवलले ३२ रनको योगदान दिए । नेपालका लागि साहब आलमले ४ तथा शेर मल्ल र बसिर अहमदले १–१ विकेट लिए । त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७ औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोडेको थियो ।
नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडेपनि कसैले ३० रन कटाउन सकेनन् । आशुतोष घिरैयाले २८ रन बनाएको इनिङ्समा अर्जुन कुमालले २७ रनको योगदान दिएका थिए । बासिर अहमदले २५ रन बनाउँदा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० र रासिद खान र प्रतिश जिसीले समान १९ रनको योगदान गरे । क्यानडाका दिलोन हेइलिगर र हर्ष ठाकरले समान दुई दुई विकेट लिएका थिए । यससँगै क्यानडाले ३ खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । क्यानडाले पहिलो खेल ४ विकेटले जितेको थियो । दोस्रो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो । नेपालसँग तीन म्याचको एकदिवसीय खेल्न क्यानडा नेपाल आएको थियो ।
नेपालको राष्ट्रिय टिमसँग सिरिज क्लिनस्विप गरेको क्यानडाले युवा खेलाडीले भरिएको नेपालको युवा टिमलाई भने हराएको छ । नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक नेपाल ए टिम निर्माण गरेको हो । राष्ट्रिय टिमलाई ब्याकअप हुने गरि क्यानले ए टिम तयार गरेको हो । युवा खेलाडीले भरिएको ए टिमलाई एक्सपोजर दिन क्यानडासँगको सिरिज आयोजना गरिएको हो ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया