लमजुङका मतदातामाझ लाेकप्रिय बन्दै उमेदवार तामाङ
लमजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका दल तथा स्वतन्त्र उमेदवारहरू यतिबेला मतदाता भेटघाटमा ब्यस्त छन् । लमजुङमा नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, एमाले र रास्वपा प्रमुख प्रतिस्पर्धामा देखिएका छन् । नेकपाबाट हरिजङ तामाङ, कांग्रेसका गमप्रसाद गुरूङ, एमालेका पुर्वमन्त्री पृथ्वीसुब्बा गुरूङ र रास्वपाका धर्म केसीलगायत १२ जना चुनावी मैदानमा छन् ।
नेकपाका उमेदवार हरिजङ तामाङ सबैभन्दा कान्छा र युवा उमेदवार हुन् । यतिबेला उनी चुनावी अभियानमा व्यस्त छन् । तर उनको प्रचारशैली भने अन्य प्रतिस्पर्धीभन्दा केही फरक देखिएको छ । उनले अरू उम्मेदवारको आलोचना नगरी आफ्ना एजेन्डा र योजना सार्वजनिक गर्दै मतदातासँग भोट मागिरहेका छन् । तामाङले गाउँ–गाउँ पुगेर रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, युवालाई सीपमूलक तालिम, शिक्षा र स्वास्थ्य सेवामा सुधार, तथा सडक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेका छन् ।
“हामी अरूलाई होच्याएर होइन, आफ्ना काम र योजनाका आधारमा जनताको विश्वास जित्न चाहन्छौँ,” उनले एक कार्यक्रममा भने । उनको चुनावी अभियान विशेषगरी युवा र आदिवासी जनजाति समुदायमा केन्द्रित देखिन्छ । जिल्लामा उल्लेख्य तामाङ मतदाता रहेको सन्दर्भमा उनले समावेशी विकास र पहिचानको मुद्दालाई पनि जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत पनि उनले आफ्ना योजनाहरू सार्वजनिक गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको लमजुङमा तामाङको सकारात्मक प्रचारशैलीले मतदाताको ध्यान खिचेको स्थानीयहरू बताउँछन् ।
विपक्षी दलप्रति टिप्पणी नगरी आफ्ना स्पष्ट कार्यक्रम प्रस्तुत गर्नु उनको चुनावी रणनीतिको मुख्य आधार बनेको छ । आगामी निर्वाचनमा मतदाताले कस्तो निर्णय गर्छन् भन्ने चासोका बीच हरिजङ तामाङले भने विकास, पारदर्शिता र सुशासनको एजेन्डालाई नै आफ्नो मुख्य चुनावी अस्त्र बनाएका छन् । उनलेे चुनावी अभियान र मतदाताकाे घरदैलो भेटघाट कार्यक्रम फागुन ५ गते राइनास नगरपालिकाबाट शुरू गरेर दुधपाेखरी गाउँपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका, काेलासाेथर गाउँपालिकाका प्राय सबै वडामा सम्पन्न गरि बेसिशहर नगरपालिका फर्किएका छन् ।
बेसिशहर नगरपालिका उनको घर भएको नगरपालिका पनि हाे । त्यसपछि उनलेे दाेर्दी गाउँपालिका र अन्य छुटेका स्थानमा मतदाता भेटघाट गर्ने कार्यसुचि बनाइएको निर्वाचन परिचालन समितिले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार








प्रतिक्रिया