कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै हरिलाल चौलागाईंद्धारा रास्वपा परित्याग
चरीकोट — हरिलाल चौलागाईं ले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका छन्। रास्वपाका दोलखा जिल्लाका प्रभावशाली नेता तथा बागमती प्रदेश समिति सदस्य रहेका चौलागाईंले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय निर्वाचन परिचालन समिति सदस्यसमेत रहेका चौलागाईं संगठन विस्तार र निर्वाचन व्यवस्थापनमा सक्रिय रूपमा संलग्न थिए। लामो समयदेखि पार्टी गतिविधिमा अग्रसर रहेका उनी अचानक बाहिरिनु दोलखा राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।
पार्टी छोड्नुको कारण खुलाउँदै चौलागाईंले रास्वपाको कार्यदिशा व्यवहारभन्दा भाषणमा केन्द्रित रहेको आरोप लगाए। “विरोधकै राजनीतिमा सीमित रहने शैली चित्त बुझेन,” उनले भने। जनताको प्रत्यक्ष समस्यासँग जोडिने, विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट योजना आवश्यक रहेको उनको भनाइ छ।
दोलखामा पछिल्लो समय विभिन्न दल त्यागेर नेताहरू अन्य पार्टीतर्फ जाने क्रम बढिरहेको बताइएको छ। विशेषगरी नेपाली कांग्रेस मा प्रवेश गर्ने लहर देखिएको छ। यसले कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटी लाई चुनावी प्रतिस्पर्धामा लाभ पुगेको राजनीतिक विश्लेषण गरिएको छ।
क्याटेगोरी : प्रमुख समाचार








प्रतिक्रिया