शिक्षा, स्वास्थ्य र कृषिमा जोड दिँदै शाहले सार्वजनिक गरे योजना
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट झापा क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वालेन्द्र शाहले आफ्नो चुनावी वाचा–पत्र सार्वजनिक गरेका छन्।
झापा–५ का मुख्य समस्या र एजेन्डालाई समेट्दै उनले वाचा–पत्र सार्वजनिक गरेका हुन्। उनले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा उभिने संकल्प व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन्।
वाचा–पत्रमा राजनीतिलाई पेशा नबनाउने उल्लेख गर्दै शाहले भनेका छन्, “राजनीतिलाई सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाई सार्वजनिक सेवालाई चुस्त–दुरुस्त बनाउने प्रयत्न गर्नेछु।”
शिक्षा क्षेत्रमा विद्यालय छोड्ने दर शून्यमा झार्ने, सामुदायिक विद्यालयमा ‘स्मार्ट क्लास’ तथा प्रयोगशाला स्थापना गर्ने योजना उनले अघि सारेका छन्।
स्वास्थ्यतर्फ विपन्न परिवारका लागि निःशुल्क उपचारको व्यवस्था गर्ने, दमक अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गर्ने तथा घर–घर स्वास्थ्य सेवा कार्यक्रममार्फत ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य जाँच गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कृषिलाई झापा–५ को मुख्य आधार मान्दै उनले आधुनिकीकरणमा जोड दिएका छन्। वाचा–पत्रमा ‘कन्काई–रतुवा सिँचाइ योजना’ विस्तार तथा ‘एक पालिका, एक शीत भण्डार’ अवधारणा लागू गर्ने उल्लेख छ।
पूर्वाधारतर्फ दमक–रवि–चिसापानी सडक निर्माण पूरा गर्ने, हुलाकी सडक तथा पुलहरू समयमै निर्माण गर्ने र दमकलाई ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने योजना समेटिएको छ।
त्यस्तै भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका लागि आवश्यक कानुन निर्माण गरी व्यवस्थित बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
शाहले “जनअपेक्षाअनुसार काम गर्न आएको हुँ, काम गर्न दिनुहोला” भन्दै मतदातासँग समर्थनको अपिल गरेका छन्।
क्याटेगोरी : देश








प्रतिक्रिया