मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताका झापा गोल्डकप शनिवारबाट
झापा । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताका अर्ना छैटौँ झापा गोल्डकप शनिवारबाट सुरु हुँदैछ । बिर्तामोडको डोमालाल राजवंशी रंङ्गशाला हुने प्रतियोगिताको तयारी सम्पन्न भएको आयोजकले जनाएको छ । गोल्डकपका अध्यक्ष विनोद बस्नेतले प्रतियोगिता आयोजनाको सम्पूर्ण तयारी सकिएको जानकारी दिए । मैदान व्यवस्थापन, प्याराफिट निर्माण लगायतका मुख्य काम सम्पन्न भएको छ ।
अध्यक्ष बस्नेतका अनुसार प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नेछन् । गोल्डकपको अवसरमा झापाली सम्मान भनेर खेलक्षेत्रमा योग्दान गरेका पूर्व खेलाडीहरुलाई सम्मान गरिने छ । गोल्ड कपका महासचिव पौडेलले खेलप्रेमी दर्शकहरुलाई टिकट काटेर खेल हेर्न आग्रह गरे । उनले विभिन्न व्यक्ति र संस्थाहरुबाट सहयोग संकलन गरेर प्रतियोगिता संचालन भएकाले गोल्डकपलाई सफल बनाउन आग्रह गरे ।
यती ब्रअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी हुनेछन्् । गोल्ड कपमा आयोजक झापा ११ एफसीसहित विभागीय टिमहरु त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड, मछिन्द्र, एनआरटी र संकटा एफसीले सहभागिता जनाउने छन् । त्यस्तै मोफसलका दुई टिम सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्ड कप खेल्ने छ । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् ।
क्याटेगोरी : खेलकुद, देश
प्रतिक्रिया