शहिद स्मारक सि डिभिजन फुटबल : बागमति र आरसि बी डिभिजनमा बढुवा, रानिवन र गोलबजार रेलिगेशनमा
काठमाण्डौ । बागमती युथ क्लबले सहिद स्मारक सि डिभिजन लिग उपाधि जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा लिग अन्तर्गत आज भएको अन्तिम खेलमा पुल्चोक स्पोर्ट्स क्लब विरुद्ध गोलरहित बराबरी सँगै बागमतीको उपाधि पक्का भएको हो । लिगको अन्तिम दिनमा बागमती र आरसी ३२ फुटबल एकेडेमी उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका थिए । तर आरसी ३२ ले उपाधि जित्नका लागि बागमतीको हार र आफ्नो खेलमा जितेको आवश्यकता थियो ।
आर्मी फिजिकल एण्ड स्पोर्टस सेन्टरमा एकैसमयमा भएको खेलमा आरसी ३२ फुटबल एकेडेमी सानेपा क्लब विरुद्ध ३–२ ले पराजित भयो । त्यस नतिजाले बागमतीले हार बेहोरेपनि उपाधि जित्ने थियो । पहिलो स्थानमा रहेको बागमतीको १३ खेलमा ३० अंक रह्यो । आरसी ३२ ले भने १३ खेलमा २६ अंक सहित दोस्रो स्थान हासिल गर्यो । यस खेल अगावै बागमती र आरसी ३२ बी डिभिजनमा बढुवा भइसकेका थिए । आरसी ३२ एन्फाले अंक घटाउँदा समेत दोस्रो स्थानमा रहेको छ ।
अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले आरसी ३२ को ४ अंक घटाएको थियो । आरसी ३२ ले स्वयम्भू क्लब विरुद्ध हासिल गरेको १–० को जित र सामाजिक युथ क्लब विरुद्ध खेलेको गोलरहित बराबरी गरी हासिल गरेको ४ अंक एन्फाले खोसेको थियो । १३ खेलमा २२ अंक सहित पुल्चोक भने तेस्रो स्थानमा रहन सफल भयो । यस्तै रानीवन स्पोर्ट्स क्लब र गोलबजार स्पोर्ट्स क्लब रेलिगेसनमा परेका छन् ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया