Techie IT
  • ११ फागुन २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

मेडिकल हब र स्मार्ट स्कूल बनाउने प्रतिवद्धता सहित पौडेलको घोषणापत्र सार्वजनिक


काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्रीप्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रका लागि १४ बुँदे प्रतिबद्धतासहित प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त दस्तावेजमा उनले क्षेत्रको विकास, पूर्वाधार विस्तार र नीतिगत सुधारका योजनाहरू उल्लेख गरेका छन्।

२०७९ सालको निर्वाचनमा विजयी भएपछि सांसद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा आफूले इमान्दारीपूर्वक काम गरेको उल्लेख गर्दै उनले रिङ रोड दोस्रो खण्डको निरन्तरता, सामाखुशी–टोखा सडक, विष्णुमती र साङ्लेखोला करिडोरलगायतका पूर्वाधार आयोजना अघि बढेको दाबी गरेका छन्। साथै, मेलम्ची खानेपानीको रिङरोड बाहिर विस्तार र नयाँ पाइपलाइन निर्माणका कामसमेत अगाडि बढेको उनले जनाएका छन्।

शिक्षा क्षेत्रमा सार्वजनिक विद्यालयलाई ‘स्मार्ट स्कूल’मा रूपान्तरण गर्ने, नेवारी र तामाङ मातृभाषासहित स्थानीय सीप र मौलिक ज्ञानलाई पाठ्यक्रममा समावेश गर्न स्थानीय तहसँग सहकार्य गर्ने योजना प्रतिज्ञापत्रमा समेटिएको छ। सार्वजनिक–निजी साझेदारीमार्फत विद्यालयहरूमा प्रविधिमैत्री वातावरण तयार गर्ने उनको प्रतिबद्धता छ।

स्वास्थ्यतर्फ सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराई यसलाई योगदानमा आधारित राष्ट्रिय कार्यक्रमका रूपमा सुदृढ बनाउने तथा सेवा–सुविधाको दायरा विस्तारका लागि आवश्यक नीति पहल गर्ने उल्लेख छ। काठमाडौं–५ लाई ‘मेडिकल हब’का रूपमा विकास गर्दै क्षेत्रभित्र रहेका प्रमुख केन्द्रीय अस्पतालहरूको क्षमता विस्तार गर्ने योजना उनले अघि सारेका छन्। साथै, बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

व्यवसायमैत्री कानुन निर्माणका लागि संघीय संसद्मा पहल गर्ने, झन्झटिलो व्यवसाय दर्ता तथा बन्द प्रक्रिया सरल बनाउने र युवालाई एआई तथा डिजिटल मार्केटिङ जस्ता क्षेत्रमा तालिम उपलब्ध गराई क्षेत्रलाई ‘डिजिटल इनोभेसन हब’ बनाउने योजना पनि प्रतिज्ञापत्रमा उल्लेख छ।

भूमिविहीनको पहिचान गरी लालपूर्जा वितरणलाई तीव्रता दिने, ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, तथा परम्परागत जात्रा–पर्वको ब्रान्डिङ गरी पर्यटनसँग जोड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

सहरी व्यवस्थापनतर्फ टुकुचा, धोबिखोला, सामाखुशी र साङ्ला खोलाको ढल व्यवस्थापन र डुबान समस्या समाधानका लागि स्ट्रोम वाटर ड्रेनेज प्रणाली विकास गर्ने योजना अघि सारिएको छ। सार्वजनिक पार्क, सुरक्षित सडक र आधुनिक मास ट्रान्सपोर्ट प्रणाली विकासमा तीन तहका सरकारबीच सहकार्य गरिने उल्लेख छ।

यस्तै, चक्रपथ विस्तार, नारायण गोपाल चोकमा अण्डरपास तथा फ्लाइओभर निर्माण, टोखा–छहरे सुरुङमार्ग र रसुवा–केरुङ राजमार्गको विकासमा पहल गर्ने प्रतिबद्धता उनले दोहोर्‍याएका छन्। डिजिटल रूपान्तरणका लागि सरकारी निकायबीच अन्तरसम्बन्धित डेटा प्रणाली अनिवार्य गर्ने तथा नेपाली प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न कानुनी सुनिश्चितता दिलाउने विषयसमेत प्रतिज्ञापत्रमा समावेश छन्।

सार्वजनिक जग्गाको संरक्षण, खेल मैदान स्तरोन्नति तथा हरित क्षेत्र विकासका योजनासमेत समेटिएको उक्त प्रतिज्ञापत्रमार्फत पौडेलले काठमाडौं–५ लाई व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode