Techie IT
  • १७ माघ २०८२, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

पोखरेलको आरोप: नेपालमा विदेशी कठपुतली सरकार, जेलेन्स्की निर्माण प्रयास


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछि नेपालमा विदेशी कठपुतली सरकार निर्माण भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै चुनावपछि जेलेन्सकी सरकार जन्माउने प्रयास भइरहेको बताएका हुन् । उनले विदेशी षड्यन्त्रलाई सफल बनाउन नदिने गरी अघि बढेको बताए । चीन र भारतका विरुद्धमा शक्ति राष्ट्रहरुले चलखेल गर्ने अखडाका रूपमा नेपाली भूमिको प्रयोग गर्न नदिने बताए ।

उनले भने, ‘संविधान घायल भएको छ, लोकतन्त्र कमजोर भएको छ, नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने षड्यन्त्र हुँदैछ। अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको छ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिनको लागि जेलेन्स्की जन्माउने योजनाको साथ अभियान सुरु भएको छ।’

पोखरेलले समाजलाई नयाँ र पुरानो पुस्ताका नाममा विभाजन गर्ने काम भइरहेको भन्दै त्यो राष्ट्रलाई कमजोर बनाउने रणनीतिक चालका रूपमा बुझ्नुपर्ने बताएका छन् ।

‘भदौ २३ र २४ को घटनापछि जवर्जस्त रूपमा हाम्रो समाजलाई नयाँ र पुरानोको नाममा विभाजित गर्ने कोसिस भइरहेको छ’, महासचिव पोखरेलले भने, ‘हाम्रो समाजलाई अस्थिरतातर्फ लैजानका लागि कहिले जातियताका नाममा विभाजित गर्न खोज्ने,कहिले एक मधेस एक प्रदेशका नाममा त कहिले पुस्ताका नाममा समाजलाई विभाजित गर्न खोज्ने काम भइरहेको छ ।’

त्यसैगरि पोखरेलले भीडका आधारमा चूनावी विश्लेषण गर्न उचित नहुने तर्क गरे । अब झापामा दोस्रो पटक बालेन जाँदाखेरि त्यही भीड देखिन्छ कि देखिँदैन भन्ने अनुमान गर्न सुझाव समेत दिए । पोखरेलले अहिले शहरी क्षेत्रमा रास्वपा प्रतिस्पर्धामा नै नरहेको विश्लेषण आइरहेको र ग्रामीण क्षेत्रमा देखिएको प्रभाव समेत चुनाव जित्ने तहसम्मको नभएको दावी गरे ।

उनले फाल्गुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका छन् । पोखरेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार चूनावी प्रचार प्रसार सुरु हुनु अघि फाल्गुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका हुन् । घोषणापत्रका बिषयमा पार्टीहरुले बिज्ञहरुसंग छलफल समेत गरिसकेको उनले बताए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode