समृद्ध कोन्ज्योसोम निर्माणमा युवा नेतृत्व

-नानीराम सन्जेल
नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल््लाका ६ वटा स्थानिय तह मध्ये क्षेत्रफलको दृष्टिकोणले सबैभन्दा सानो गाउँपालिका हो कोन्ज्योसोम गाउँपालिका । भौगोलिक हिसाबले ८५ डिग्री १५ मिनेट २७ सेकेन्ड देखि ८५ डिग्री २५ मिनेट २३ सेकेन्ड पूर्वी देशान्तर सम्म र २७ डिग्री २८ मिनेट ३६ सेकेन्ड देखि २७ डिग्री ३३ मिनेट ४९ सेकेन्ड उतरी अंक्षामशमा अवस्थित यस गाउँपालिकाको क्षेत्रफल ४४.१८ वर्ग कि मि र उचाई समुन्द्री सतह बाट १०५३ मि देखि २६१९ मि सम्म र औषत अधिकतम तापक्रम २६.४ डिग्री, औषत न्युनतम तापक्रम २.३ डिग्री रहेको पाइन्छ । यस गाउँपालिकाको कुल जनसङ्ख्या ९७०९ जसमा सबैभन्दा बढी तामाङ जाती ७५.७८ प्रतिशत रहेको छ । (स्रोत : गाउँपालिकाको वेवसाइट) यस गाउँपालिकामा ५ वटा वार्डहरु वार्ड न. १ चौघरे, वार्ड नं २ शंखु, वार्ड न. ३ दलचोकी, वार्ड न. ४ नल्लु र वार्ड न. ५ भारदेउ रहेका छन् । “कृषि, पर्यटन, सँस्कृति, वातावरण र पूर्वाधार : सुशासनयुक्त, सभ्य र समृद्ध कोञ्योसोमको आधार” भन्ने मुल नारा अंगिकार गरी राजधानीको सबैभन्दा नजिकको गाउँपालिकाको रुपमा संघर्ष गर्दै आएको पालिकाको रुपमा यो पालिका स्थापति रहेको छ ।
कोन्ज्योसोम (Konjyosom) गाउँपालिकाको नामाङ्करण यसको स्थानीय तामाङ भाषिक र सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ । “कोञ्योसोंम” शब्द तामाङ भाषाबाट आएको हो । तामाङ भाषामा “कोन्”, “ज्यो”, र “सोम” भन्ने शब्दहरू मिलेर बनेको “कोन्ज्योसोम” शब्दले त्रिदेवको अथ्र्याउने गरिएको छ । तसर्थ यसको नाम स्थानीय सांस्कृतिक संरचनाबाट नै उत्पन्न भएको हो भन्ने आधारहरु छन् । वि सं २०७३ फाल्गुन २७ गते नेपाल सरकारबाट प्रकाशित राजपत्रमा प्रकाशित राज्य पुर्नसंरचनाका व्रmममा साविकका चौघरे, शंखु, दलचोकी, नल्लु र भारदेउ गा वि स हरु समावेश गरी हालको कोन्ज्योसोम गाउँपालिकाका निर्धारण गरिएको हो । वर्तमान संघिय संरचना अनुसार भएको पहिलो स्थानिय तहको निर्वाचनमा उपत्यकाकै एकमात्र स्थानिय सरकारको रुपमा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको यस पालिकामा हाल नेकपा एमाले नेतृत्वले सरकार संचालन गरिरहेको छ ।
नेपालको विकास र समृद्धिको यात्रा लामो समयदेखि संघर्ष, परिवर्तन र अवसरको मिश्रणले भरिएको छ । राजनीतिक रूपान्तरणका हरेक चरणमा युवाहरूले निर्णायक भूमिका निर्वाह गरेका छन् । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०६२।६३ को जनआन्दोलनसम्म युवाको उत्साह, बलिदान र दृष्टिले देशलाई नयाँ दिशामा अघि बढाएको छ । आज नेपालले राजनीतिक स्थायित्वको चरण पार गर्दै आर्थिक र सामाजिक समृद्धितर्फ पाइला चालिरहेको हुनुपर्नेमा अझै यहाँ देशमा र कोन्न्योसोममा आर्थिक र सामाजिक समृद्धिको विषय छायाँमा परेको छ । यस समृद्धिको निर्माणमा युवाको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ किनभने उनीहरू देशका वास्तविक परिवर्तनकर्ता र भविष्यका अभियन्ता हुन् ।
विगतका राजनीतिक अभ्यासहरूका कमजोरी र आगामी सम्भावनाहरूको विश्लेषणमा आधारित छन्। विगतमा राजनीति (Post & Power) अर्थात पद र शक्तिमा केन्द्रित रहँदा प्रणालीमा भ्रष्टाचार, असमानता र जनअविश्वास बढेको देखिन्छ । अब नयाँ राजनीतिक संस्कृतिको आवश्यकता छ, जुन इमान्दारिता (Integrity), समावेशिता (Inclusive), नवप्रर्वतन (Innovation), पारदर्शिता (Transparency), योग्यतामा आधारित नेतृत्व (Talentocracy) र सशक्तिकरण (Empowerment) मा आधारित हुनुपर्छ । युवा नेतृत्वहरू नै यस प्रकारको नयाँ संस्कृतिका वाहक हुन् । उनीहरूले आफ्नो दृष्टि, सीप र सोचमार्फत समाजमा उत्तरदायी नेतृत्व, नवप्रवर्तन र सशक्तीकरणको भावना ल्याउन सक्छन् । त्यसैले युवाको भूमिका केवल समर्थन वा आन्दोलनमा सीमित नभई, नीतिगत रूपान्तरण र मुल्यमा आधारित शासनको निर्माणमा केन्द्रित हुनुपर्छ ।
नेतृत्व र नीति निर्माणमा युवाको भूमिका
कोन्ज्योसोमको राजनीतिक प्रणाली लामो समयसम्म संकुचित बिचारबाट प्रभावित पुरातनवादी राजनैतिक नेतृत्वमा सीमित रहँदा नयाँ सोच र व्यवहारिक नीतिहरू कमजोर बनेका छन् । अबको कोन्ज्योसोमलाई युवाको दृष्टिकोण र नवप्रवर्तनशील विचारको आवश्यकता छ । भावी नेतृत्वमा ७५ प्रतिशत भन्दा बढी युवाको सहभागिता सुनिश्चित हुनसकेमा मात्र समृद्ध कोन्ज्योसोमको आधारशिला तयार हुन सम्भब छ अन्यथा अझै पनि कोन्ज्योसोमले गाउँमै बस्ने, गाउँमै अध्ययन गर्ने र गाउँमै काम गर्ने वातावरण तयार गर्न सक्ने छाँटकाँट देखिदैन । युवाहरू नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयनमा सहभागी हुँदा विकासका प्राथमिकता स्थानीय आवश्यकतामा केन्द्रित हुन सक्छ । युवाको सहभागिताले लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्छ र नागरिक उत्तरदायित्व बढाउँछ । तसर्थ नेतृत्व र नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिताको सुनिश्चताको लागि सबैको ध्यान केन्द्रित हुनु जरुरी छ ।
नवप्रवर्तन र प्रविधि नेतृत्व
समृद्धिको प्रमुख चालक शक्ति नवप्रवर्तन हो । आजका युवाहरू प्रविधि, डिजिटलाइजेसन र उद्यमशीलताका क्षेत्रमा अग्रणी छन् । यसले कोन्ज्योसोमको कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रविधिमुखी सुधार ल्याएर उत्पादनशीलता बढाउन सक्छ र युवाहरुलाई आफ्नै ठाउँमा रहेर पनि पेशा व्यवसाय तर्फ आकर्षित गर्न सक्छ । अर्को पक्ष नातावाद, परिवारवाद, भनसुनवाद र बिशेष पार्टीवादका आधारमा अवसर दिने वा नदिने भन्ने निर्णय गर्ने परिपाटीलाई अन्त्य गरी …Talentocracy’ अर्थात योग्यता र दक्षतामा आधारित छनोट प्रणाली यही नवप्रवर्तनबाट सुदृढ हुन्छ । जब नेतृत्व र निर्णय योग्यता, दक्षता र परिणाममा आधारित हुन्छ, तब कोन्ज्योसोमले तीव्र आर्थिक प्रगति गर्न सक्छ ।
पारदर्शिता र सुशासनमा युवाको भूमिका
सुशासन र पारदर्शिता समृद्धिको मेरुदण्ड हुन् । युवाहरूले भ्रष्टाचारविरुद्धको लडाइँमा सक्रिय सहभागिता जनाएर पारदर्शी प्रशासनको अभ्यासलाई प्रोत्साहन गर्न सक्छन् । Transparency लाई शासन प्रणालीको मुख्य स्तम्भका रूपमा प्रस्तुत गर्न सकेमा कोन्ज्योसोमले तीव्र विकासको लय पव्रmनेमा दुई मत रहन्न । यदि युवाहरू नागरिक अनुगमन, सामाजिक लेखापरीक्षण र सूचना अधिकारको प्रभावकारी प्रयोगमा जुटे भने, राज्य प्रणालीमा विश्वास र जवाफदेहीपनको वातावरण स्थापित हुनेछ ।
सामाजिक समावेशिता र सशक्तीकरण
कोन्ज्योसोम सामाजिक संरचनाको दृष्टिले विविधतायुक्त छ । जातीय, भाषिक, लैङ्गिक र भौगोलिक विविधता यहाँका विशेषता हुन् । युवाहरूले सबै समुदायबीच सहकार्य, समान अवसर र परस्पर सम्मानको भावना विकास गर्न सक्छन् । Inclusiveness र Empowerment का माध्यमबाट कोन्ज्योसोमका वञ्चित वर्ग, महिला, दलित र ग्रामीण युवालाई अवसर दिनु समृद्धिको अनिवार्य सर्त हो । युवाहरूले सशक्तीकरणका अभियान, सीप विकास कार्यक्रम र स्थानीय नेतृत्वमा सक्रिय भई सामाजिक न्याय र समावेशितालाई बल दिन सक्छन् ।
शिक्षा, सीप र नैतिक मूल्य
शिक्षा समृद्धिको आधार हो तर शिक्षा मात्र प्रमाणपत्र होइन । व्यवहारिक सीप र नैतिकता पनि हो । युवाहरूले इमानदारी, जिम्मेवारी र देशप्रेमलाई जीवनको मूल मूल््यका रूपमा आत्मसात गर्दछन् । Integrity लाई समृद्धिको प्रमुख तत्वका रूपमा लिन सकिन्छ । यदि शिक्षा प्रणालीले सिर्जनशील सोच, अनुसन्धान र व्यावसायिक सीपलाई प्राथमिकता दियो भने युवाहरू आत्मनिर्भर मात्र होइन, देशलाई पनि आत्मनिर्भर बनाउन सक्षम हुनेछन् । यसले कोन्ज्योसोमका आम नागरिकहरुलाई ढुक्कासाथ गाउँमै बस्ने, गाउँमै अध्ययन गर्ने गराउने र गाउँमै काम गर्ने वातावरण तयार गर्न सम्भब गराउँछ ।
स्थानीय तह र समुदायस्तरको सशक्तीकरण
कोन्ज्योसोमको समृद्धि निर्माणको रोडम्याप स्थानीय सरकारले तय गर्ने निति, कार्यव्रmम र योजनामा आधारित हुन्छ । स्थानीय विकासमा युवाहरूको अर्थपूर्ण सहभागिता शुनिश्चित गर्न सकेमा विकासले सार्थकता पाउन सक्छ । उनीहरूले गाउँ, टोल, समुदाय र विद्यालय स्तरमा नागरिक सचेतना, स्रोत व्यवस्थापन र वातावरणीय संरक्षणमा नेतृत्व लिन सक्छन् । साना स्तरका नवप्रवर्तन जस्तै कृषिमा आधुनिकीकरण र व्यवसायिकरण्म, स्रोत साधानको समुचित प्रयोग, पर्यटनमैत्री पुर्वाधार निर्माण र व्यवसायिकरण यिनैबाट कोन्ज्योसोमको समृद्धिको बाटो खुल्छ ।
सोच, मूल्य र नेतृत्व संस्कृतिमा परिवर्तन
नेपालको विगतका राजनीतिक अभ्यासले देखाएको छ कि शक्तिप्राप्ति र पदमुखी सोचले प्रणालीलाई कमजोर बनायो । यो रोगले कोन्ज्योसोमलाई पनि अछुतो राखेन तसर्थ अब युवाहरूले Integrity र Transparency मा आधारित नयाँ नेतृत्व संस्कृतिको स्थापना गर्नुपर्छ । अब Post & Power होइन Purpose & People मा केन्द्रित नेतृत्वको आवश्यकता महसुस भएको छ जसका लागि युवाहरूले इमान्दार, जनमुखी र दिगो सोच भएका नेतृत्व बन्ने प्रतिबद्धता लिनुपर्छ ।
अन्तर्राष्ट्रिय दृष्टि र सहकार्य
आजको युग विश्वव्यापी सहकार्य र प्रतिस्पर्धाको हो । विदेशमा रहेका कोन्ज्योसोमका युवाहरूले सीप, पूँजी र प्रविधि ल्याएर देशको समृद्धिमा योगदान दिन सक्छन् । वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सलाई उत्पादनमुखी लगानीमा रूपान्तरण गर्न नीतिगत सुधार आवश्यक छ । युवाहरूले अन्तर्राष्ट्रिय सञ्जाल, साझेदारी र ज्ञान साटासाटका माध्यमबाट कोन्न्योसोमको आर्थिक विकासलाई उदाहरणीय रुपमा प्रस्तुत गर्न सक्छन् ।
समृद्ध कोन्ज्योसोम निर्माण केवल सरकार वा राजनीतिक नेतृत्वको जिम्मेवारी होइन यो सम्पूर्ण कोन्न्योसोमबासी आम नागरिक विशेषतः युवापुस्ताको सामूहिक प्रतिबद्धता हो । . “Integrity, Inclusion, Innovation, Transparency, Talentocracy, Empowerment” का मूल््यहरूलाई जीवनमा उतार्दै कोन्ज्योसोमका युवाहरूले यसको भविष्य निर्माण गर्न सक्छन् । युवाहरूमा ऊर्जा, दृष्टि र साहस छ, त्यही साहसलाई सही दिशामा प्रयोग गर्न सके कोन्ज्योसोम समृद्ध गाउापालिकाको श्रेणीमा पुग्न सक्छ । अतः आजका युवाहरू नै भोलिका कोन्ज्योसोमका वास्तविक निर्माता हुन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया