जेनजी र कार्कीसँग रिसाएका ओलीले गरे आफ्नो बचाउ, देश छोडेर नजाने उद्घोष

भक्तपुर । जेनजी आन्दोलनले राजीनामा दिन बाध्य पारिएका केपी ओली आज सार्वजनिक कार्यक्रममा देखा परे । भदौ २४ गते राजीनामा दिएपछि नेपाली सेनाको संरक्षणमा बसेका ओली केही दिनअघि भक्तपुरस्थित गुण्डुमा बस्दै आएका थिए ।
आज राष्ट्रिय युवा संघको कार्यक्रममा देखा परेका ओलीले आफूमाथि लागेका विभिन्न आरोपहरू खण्डन गरेका छन् । उनको सम्बोधन जेनजी आन्दोलनमा भएको हिंसा, वर्तमान सरकारको वैधानिकता, आफ्नै कार्यकालको बचाउ र एमालेको भविष्यको एजेन्डामा केन्द्रित थियो । जेनजी आन्दोलनका क्रममा भएको हिंसा र गोलीकाण्डको सन्दर्भमा ओलीले आफूले कुनै पनि गोली चलाउने निर्देशन नदिएको स्पष्ट पारे । उनले सुरक्षाकर्मीले खुट्टामा गोली हान्नुपर्नेमा टाउकोमा गोली लागेकोमा गम्भीर प्रश्न उठाए । देशमा रक्तपात नहोस् भन्ने पक्षमा आफू रहेको जिकिर गर्दै, घटनाको दोष आफूमाथि थोपर्न विभिन्न तत्वहरूले भ्रम फैलाएको दाबी गरे ।
उनले यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको आयोगको प्रतिवेदन पर्खिनुपर्नेे बताए । यस घटनाको छानबिनका लागि छुट्टै आयोग गठन गर्न भनेको तर राजीनामा दिएपछि आफ्नो हातमा केही नरहेको उनको भनाइ थियो । हालको सरकारको गठन प्रक्रियामा समेत ओलीले प्रश्न चिह्न खडा गरेका छन् । उनले वर्तमान सरकार संवैधानिक बाटोबाट नबनेको, बरु ‘तोडफोड र आगजनी’ बाट निर्माण भएको आरोप लगाए । आफ्नो कार्यकालमा भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको दाबी गर्दै ओलीले वर्तमान सरकारले शीर्ष नेताको पासपोर्ट रोक्ने हल्लाप्रति आक्रोश व्यक्त गरे ।
देश बनाउन एमाले प्रतिबद्ध रहेको र आफूहरू संवैधानिक लोकतान्त्रिक मूलधारमा देशलाई फर्काउने उनको अटल विश्वास देखिन्थ्यो । उनले एमालेबाहेक अरूले देशलाई सही बाटोमा फर्काउन नसक्ने ठोकुवा गर्दै आफ्ना कार्यकर्ताहरूलाई हरेस नखान र समग्र देशवासीलाई संयमता अपनाउन आग्रह गरे ।
राष्ट्रियता र देशभक्तिको पक्षमा बोल्नेहरूलाई ‘झोले’ भन्दै सामाजिक सञ्जालमा ‘ट्रेन्ड’ चलाइएकोमा ओलीले असन्तुष्टि जनाए । यसलाई भ्रमको खेती र राष्ट्रिय एकता कमजोर पार्ने प्रयासको रूपमा उनले चित्रण गरे। आफ्नो सरकारले देश विकासमा ऐतिहासिक काम गरेको स्मरण गराउँदै उनले देश निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न अपिल गरे । ओलीले हिंसात्मक घटनाको सत्यतथ्य छानबिनका लागि छुट्टै आयोग गठनको माग दोहोर्याए ।
जेनजी पुस्ताले उठाएका सुशासन र भ्रष्टाचारका मुद्दाहरूलाई आफूले गम्भीरतापूर्वक लिएको भए पनि सत्ताच्युत भएपछि समाधान गर्न नपाएकोमा चिन्ता व्यक्त गरे । ओलीको यो सम्बोधन सत्ता गुमाएपछि आफ्नो प्रतिरक्षा गर्ने, वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाउने र जेनजी आन्दोलनको आवश्यकता तथा औचित्यतामाथि प्रश्न उठाउन केन्द्रित थियो ।
‘जेनजी घरैपिच्छे छन् । घरघरमै छन् । जेनजीका नाममा केही भाइबहिनी संगठित हुनुभएको छ । केहीलाई गुमराहमा राखिएको छ,’ ओलीले भने, ‘तपाईंहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ, यसरी नै आगजनी गर्दै जाने हो भने, होटल, ऐतिहासिक सम्पदा ध्वस्त पार्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ ?’
उनले आवेगमा नआउन पनि जेनजीहरूलाई आग्रह गरे । ‘तपाईंहरू आवेगमा आउने होइन,’ ओलीको सुझाव छ ।
उच्च सुरक्षा घेरामा कार्यक्रमस्थल पुगेका उनलाई घर फर्कदा पनि सुरक्षा निकाय र युवा संघले सुरक्षा दिएका थिए ।
यसैबीच ओलीले पार्टीको सचिवालय बैठक बोलाएका छन् । भोलि (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो । पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा बैठक बोलाइएको जनाइएको छ ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । गत २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया