दशैँमा घर जानेलाई सडक बाधक, सहज बनाउन मन्त्री घिसिङले गरे महत्वपूर्ण निर्णय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दशैं अवधिमा काठमाडौं बाहिर जाने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
शनिबार सिंहदरबारमा बसेको यातायात व्यवस्था बिभाग, सुरक्षा निकाय, यातायात व्यवसायी लगाएत सरोकारवाला निकायसंगको बैठकमा दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फत मात्र बाहिर जान दिने र दशैपछि पुनः प्रवेशको व्यवस्था गर्न सम्बन्धित पक्षसँग छलफल गरि आवश्यक निर्देशन दिने निर्णय भएको हो ।
मन्त्री घिसिङले अहिले सञ्चालनको अन्तिम तयारीमा रहेपनि दशैलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्न निर्देशन दिइएको बताए । त्यस्तै बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दशैं अवधिभर ठूला मालवाहक सवारीसञ्चालनमा रोक लगाउने निर्णय भएको छ भने देशभरका मुख्य सडकलाई स्तरोन्नति तथा सुधार गर्ने, पहिरोजस्ता विपद व्यवस्थापनका लागि आवश्यक सामग्री तथा उपकरण व्यवस्थापन गर्ने निर्णय भएको छ ।
बुटवल–नारायणघाट सडक खण्डमा २४ घण्टा दुईतर्फी यातायात सञ्चालन गर्ने, नारायणघाट–मुग्लिन सडकको तुइन खोला क्षेत्रमा भएको अवरोध तत्काल हटाई सञ्चालनमा ल्याउने र तातोपानी नाकासम्मको मुख्य सडक दशैंअघि सञ्चालनमा ल्याउने गरी सडक विभागलाई निर्देशन दिने निर्णय पनि भएको छ ।
बैठकले देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न, आवश्यक समन्वय र व्यवस्थापनका लागि फोकल पर्सनसहित कन्ट्रोल रुम सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने निर्णय गरेको छ ।
त्यस्तै नयाँ बसपार्कसहित मुलुकका विभिन्न राजमार्गमा सुरक्षा चुस्त बनाउन प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री घिसिङले बताए । बैठकले सार्वजनिक सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी छिट्टै मन्त्रालयमा पेश गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
यस्ता छन् निर्णयहरु :
१. देशका विभिन्न स्थानका अवरुद्ध सडकलाई तत्काल सञ्चालनमा ल्याउन तथा पहिरोजन्य विपदहरुको व्यवस्थापन गर्न आवश्यक समाग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्न सडक विभागलाई निर्देशन दिने
२. बुटवल– नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर लागु हुने गरी ठुला भारबाहन सवारी साधनहरु १२ चक्के र सोभन्दा माथि सञ्चालन नगर्न नगराउन अनुरोध गर्ने
३. तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न गराउन सडक विभागलाई निर्देशन दिने
४. आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने
५. मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गर्न गराउन सडक विभागलाई निर्देशन दिने
६. दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फत मात्र बाहिर जान दिने र दशैपछि पुनः प्रवेशको व्यवस्था गर्न निर्देशन दिने
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया