‘जेन–जी आन्दोलनपछि अदालतको अभ्यास कसरी चल्छ ?’

योङ लयर्स एसोसिएसन अफ नेपालले ‘जेन–जी आन्दोलनपछि अदालतको अभ्यास कसरी चल्छ ?’ विषयक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा “जेन–जी आन्दोलनदेखि पुनस्र्थापना : कानूनी अभ्यासको पुनर्परिभाषा” शीर्षकमा छलफल गरिएको हो ।
कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेल, नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्र, महासचिव केदार कोइराला, युवा कानून व्यवसायी अपूर्व खतिवडा र अधिवक्ता सरोजकृष्ण घिमिरेले विचार राखेका थिए ।
मुख्य रजिष्ट्रार पौडेलले हालसम्म २३ वटा अदालतमा क्षति पुगेको जानकारी दिँदै अनलाइन प्लेटफर्ममा रहेको डेटा सुरक्षित भए पनि त्यसलाई पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताए। उनका अनुसार अदालतमा बाँकी रहेका मिसिल छानबिनको काम भइरहेको छ । भ्रष्टाचारप्रति आफूहरू शून्य सहिष्णु रहेको उल्लेख गर्दै उनले त्यस्तो जानकारी आएमा छानबिन र कारबाहीमा निर्मम हुने प्रतिबद्धता व्यक्त गरे। साथै, सरुवाका सवालमा निष्पक्ष हुने पनि उनले जोड दिए ।
नेपाल बारका अध्यक्ष मिश्रले बारलाई दलमुखी भन्दा पनि व्यवसायिक बनाउनेतर्फ जोड दिँदै, विगतमा जस्तो भए पनि अब बारलाई पेशागत धरातलमा उभ्याउने प्रतिवद्धता व्यक्त गरे। उनले अदालत र बारबीच सहकार्य हुनुपर्ने, न्यायाधीश र वकिलबीच अनावश्यक आक्षेप नलगाउनुपर्नेमा जोड दिए ।
युवा कानून व्यवसायी अपूर्व खतिवडाले अदालतमा हुने सम्पूर्ण काम निष्पक्ष हुनु जरुरी रहेको बताए । उनले कानून व्यवसायीहरूले पनि आक्षेप लगाउने प्रवृत्तिबाट टाढा रहनुपर्ने धारणा राखे ।
अधिवक्ता सरोजकृष्ण घिमिरेले न्यायिक क्षेत्रमा नयाँ व्यवसायीहरूको संलग्नता बढिरहेको उल्लेख गर्दै, सानो कानूनी क्षेत्रलाई व्यवस्थित ढंगले अगाडि बढाउन अहिले देखिनै सोच्नुपर्ने बताए ।
कार्यक्रमको अध्यक्षता योङ लयर्स एसोसिएसन अफ नेपालका अध्यक्ष लजुला महर्जन प्रधानले गरेका थिए भने अधिवक्ता दीपकराज जोशीले सञ्चालन गरेका थिए ।
“जेन–जी आन्दोलनदेखि पुनस्र्थापना : कानूनी अभ्यासको पुनर्परिभाषा” शीर्षकमा छलफल :
Link-
https://www.facebook.com/reel/638656975978521
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया