कुलिङ अफ पिरियड राख्दै राष्ट्रियसभाबाट पारित भयो निजामती सेवा विधेयक

काठमाडौ । सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेको हो । त्यसअघि बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उक्त विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री न्यौपानेले कुलिङ पिरियड, अवकाशको अवधि लगाएतका बिषयमा सौहार्दपूर्ण रुपमा विधायन समितिमा छलफल भएको र सर्वसम्मत रुपमा अघि बढाइएको बताइन । उनले प्रशासकीय क्षेत्रको सुधार गर्दै संघीयतालाई बलियो बनाउन निजामती सेवा विधेयक निकै महत्वपूर्ण रहेको उल्लेख गरिन् ।
विधेयकमा बहुचर्चित कुलिङ पिरियडको प्रतिनिधिसभाको त्रुटि राष्ट्रियसभाले सच्याएको छ । अर्थात कर्मचारी अवकाशपछि २ वर्ष नियुक्ती हुन नपाउने व्यवस्था राखिएको छ ।
त्यसअघि मंगलबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सङ्घीय निजामती सेवा विधेयक २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेकी थिइन् । त्यसअघि राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको थियो ।
यसअघि नै प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा निजामती सेवासम्बन्धी ऐन जारी भएको पहिलो वर्ष अवकाशको उमेर ५८ वर्ष नै कायम गर्ने, दोस्रो वर्ष ५९ र तेस्रो वर्ष ६० वर्ष कायम गर्ने भन्ने व्यवस्था रहेकालाई बैठकले सदर गरेको हो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया