विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरु आन्दोलित

काठमाडौ । विद्यालय शिक्षा विधेयकमा समेटिएका केही प्रावधानप्रति असन्तुष्ट जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । स्कुल बसमा कालो झण्डा र ब्यानरसहित चक्रपथ परिक्रमापछि उनीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् ।
निजि विद्यालय बन्द गराउने गरि विधालय शिक्षा विधेयकलाई अघि बढाउन खोजिएको भन्दै प्याव्सन, नेशनल प्याव्सन, हिसान लगाएतले संयुक्तरुपमा काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा रहेका केहि प्रावधानहरु अव्यवहारिक र अन्यायपूर्ण रहेकाले उक्त प्रावधान हटाउनुपर्ने उनीहरुको माग छ ।
निजी विद्यालयले अति विपन्न र गरिबलाई ३ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रस्ताव प्रतिनिभिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकले पारित गरेको छ । तर, निजी विद्यालय सञ्चालकहरू पूर्ण छात्रवृत्ति दिने पक्षमा छैनन् । यसअघि बिहीबार पनि निजी विद्यालय सञ्चालकहरू माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।
आन्दोलनमा भेटिएका तारकेश्वर नगरपालिका–२ स्थित संस्कार स्कुलका प्रिन्सिपल सन्तोष भट्टराईले पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने लगायतका माग पूरा हुनुपर्ने बताए ।
“कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्छ ।” भट्टराईले भने ।
नेपाल शिक्षक महासंघले पनि शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दा सम्बोधन नभएको भन्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।
विधेयकमा उल्लेख धेरै बिषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र गितका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले पहिलो चरणको आन्दोलन अन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने र भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउदै २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने जानकारी दिए ।
त्यस्तै भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने उनले बताए । अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने चेतावनी दिए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया